सुस्ताका कोरोना संक्रमित मुम्बईबाट आएका थिए

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आज कोरोना सङ्क्रमण पुष्टि भएका २७ वर्षीय पुरुष गत वैशाख ३० गते भारतको मुम्बईबाट आएको खुलेको छ ।सुस्ता गाउँपालिका–५ बेल्वानी गाउँका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भारतबाट सुस्ता हुँदै नारायणी नदीबाट डुङ्गा तरेर ती युवक गाउँ आएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए । उनी घर पुगेपछि गाउँलेले क्वारेन्टिन पुर्‍याएको बताइएको छ । उनी सुस्ताको बेल्वानी क्वारेन्टिनमा बसेका छन् ।

उनीसँगै आएको डुङ्गामा दुई सुरक्षाकर्मीसहित सात जना आएको खुलेको छ । उनलाई भाइले मोटरसाइकलमा बसालेर क्वारेन्टिन पुर्‍याएकाले उनको पिसिआर परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्यकर्मीको टोलीले उनको ट्रेसिङ्ग गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । यही जेठ ३ गते स्वाब सङ्कलन गरी पठाइएकामा ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएको र स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।

सुस्ता गाउँपालिकाबाट पछिल्लो पटक ५५ जनाको स्वाब सङ्कलन गरी पठाइएकामा अन्यको नतिजा नेगेटिभ आएको छ । ट्रेसिङ्गको काम सकिएपछि उनलाई भैरहवास्थित भीम अस्पताल पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै पश्चिम नवलपरासीमा कोरोना सङ्क्रमित दुई पुगेका छन् । यसअघि प्रतापपुर गाउँपालिका–५ का एक युवकमा सङ्क्रमण पुष्टि भएको थियो । उनको भीम अस्पतालमा उपचार भइरहेको छ ।

FacebookTwitter

 
 
  
 

You may also like