एक दुई दिनभित्रै स्थायी कमिटी बैठक बोलाउँछौं : प्रचण्ड

काठमाडौं।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आन्तरिक तयारी नपुगेका कारण स्थायी कमिटी बैठक स्थगित भएको र एक दुईदिन भित्रै बैठक बोलाउने तयारी भएको बताएका छन्। स्थायी कमिटी बैठक स्थगित भएपछि अध्यक्ष दाहालले पहिलोपटक बैठक स्थगित भएको विषयमा औपचारिक प्रतिक्रिया दिएका हुन्।अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच छलफल जारी रहेको बताउँदै प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलसकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए।

संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘अलि गृहकार्य नपुगेकै हो। दुवै अध्यक्षले छलफल गरी बैठक एकदुई दिनभित्र बोलाउँछौँ।’स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ। अध्यक्ष प्रचण्डले आज नै संसद सभाहलको अनुगमन पनि गरेका छन्।

अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए। ‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ। प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाउनुभएको छ। स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ। ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ।’

संघीय संसदका सांसदहरु र कर्मचारीहरुको स्वाब पिसिआर परीक्षणका लागि संकलन गरीएको छ। संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

 
 
  
 

You may also like