बुटवलका दुई दर्जन मासु तथा अन्य पसलमा अनुगमन

by समतल अनलाइन

बुटवल । बुटवलका मासु तथा अन्य पसलहरुमा जिल्ला स्थित अनुगमन समितिले बुधबार अनुगमन गरेको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय बुटवल तथा जिल्ला भेटनरी कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा मापदण्ड विपरित पसल सञ्चालन भएको पाइएको छ ।

बुटवलको नेपालगञ्ज रोड र भुड्कीचौकमा रहेका मासू पसलले मापदण्ड विपरित खुल्ला रुपमा अस्वस्थकर रुपमा मासु विक्रि गर्ने गरेको भेटिएको अनुगमन समितिले जनाएको छ ।

खुल्ला र नालीको माथि पट्टी मासू र माछा काटेर विक्रि गर्ने गरेकाले सुधार गर्न निर्देशन दिइएको उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख रुद्र प्रसाद ज्ञवालीले बताए ।

उनले मासु जस्तो संवेदनशिल व्यवसायमा लापरवाही बढि देखिएको बताए । बुटवल सुख्खानगर जाने बाटोको खुल्ला रुपमा नालीको माथिपट्टी माखा भन्काएर मासू र माछाको व्यापार गर्ने गरेको पाइएको उनले बताए ।

अधिकांश मासू पसलले खरिद र विक्रि गरेको विल समेत काटेका छैनन । अनुगमन समितिले बुटवलका मुख्य बजार क्षेत्रका व्यापारिक पसलहरुको समेत अनुगमन गरेको छ । मासू पसलसँगै ग्याँसपसल, कपडा, इलेक्ट्रोनिक पसलहरुमा समेत अनुगमन गरिएको छ ।

 
 
  
 

You may also like