महोत्तरीमा एउटै टोलका चारको रहस्यमय मृत्यु

महोत्तरी। महोत्तरीमा एउटै गाउँका चार जनाको रहस्यमय रुपमा मृत्यु भएको छ ।महोत्तरीको भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्नाका ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको वडा नम्बर–७ का वडाध्यक्ष वासुदेवसिंह थारुले जानकारी दिएका छन् ।

उनीहरुको मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा मृत्यु भएको थारुले बताएका छन् । उनीहरु सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको वडाध्यक्ष सिंहले बताएका छन् ।

गंगाराम सदाको शव जलाईसकेको अवस्थामा प्रहरी पुगेको थियो । लालबाबु सिंहलाई बिहान जनकपुर उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्युु भएको थियो । चार जनामध्ये उनको शव मात्र जलाउन बाँकी रहेकाले प्रहरीले नियन्त्रणमा लिन गएको हो ।

शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्युु भएको निष्कर्ष निकाल्न नसकिने बताउँदै महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी भन्छन्, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र थप कुरा बताउन सकिन्छ ।’

यसैबीच प्रहरीले मृतक लालबाबुको घरबाट रक्सी बरामद गरिएको जानकारी दिएको छ । २०७६ चैत पहिलो साता धनुषाको रमदैया र जनकपुरमा विषाक्त मदिराका कारण २४ जनाको ज्यान गएको थियो ।

 

 
 
  
 

You may also like