उदयपुरको भुल्केमा थप आठको परीक्षण रिपोर्ट पोजेभिट, थप परिक्षण हुदै

काठमाडौं । नेपालमा कोरोनाको ‘इपिसेन्टर’ को रुपमा देखिएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप आठ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप आठ जनामा कोरोना संक्रमण देखिएको स्रोतले जानकारी दिएको छ । उनीहरुलाई लिन प्रदेश–१ सरकारले भुल्केतर्फ एम्बुलेन्स पठाएको जनाइएको छ ।

स १ च ४ ५८० नम्बरको र अर्को एम्बुलेन्स संक्रमितलाई लिन भुल्के पुगेको थियो स्रोतले जानकारी दिएको छ । स्रोत भन्छ, ‘शुरुमा चिकित्सकको निगरानीमा उदयपुरमै आइसोलेसनमा राख्ने कि भन्ने पनि छलफल भएको थियो । तर, बीपी प्रतिष्ठान नै लगिएको छ ।’

संक्रमित भनिएकाहरुलाई विराटनगरस्थित कोशी कोरोना अस्पताल अथवा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ राख्ने भन्ने विषयमा धरानमा चिकित्सकबीच छलफलमा भएको जनाइएको छ ।

भुल्केमा मस्जिदमा बसेका दुई नेपालीसहित भारतबाट आएका ११ जना मुस्लिममा कोरोना पुष्टि भएसँगै नेपाली सेनाले भुल्के आसपासका बस्तीमा तीन दिन लगाएर स्वाब संकलन गरेको हो । त्यहाँ तीन दिनमा ३२१ जनाको स्वाब संकलन गरिएको थियो । पहिलो दिन वैशाख ६ गते शनिबार संकलन गरेको ६९ वटा स्वाब कोशी अस्पताल परीक्षण भएको थियो ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशाला विराटनगरका निर्देशक डा. जयवेन्द्र यादवले संक्रिमत भनिएकाहरुलाई उदयपुरबाट ल्याएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राख्ने भए पनि त्यहाँ प्रतिष्ठानकै नियमअनुसार हुने जानकारी दिएका छन् । उनले भने, ‘संक्रमितलाई अलग्गै के कसरी राख्ने हो भन्ने कुरा प्रतिष्ठानकै नियमअनुसार हुन्छ ।’

आइतबार भुल्के आएको नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले दुई दिन लगाएर २५२ जनाको स्वाब संकलन गरेर काठमाडौं लगिसकेको छ । ती नमूनाको परीक्षण काठमाडौंमा भइरहेको छ । प्रदेश-१ का प्रहरी प्रवक्ता डीएसपी सुमनकुमार तिमिल्सिनाले सबैलाई थप परीक्षणका लागि धरान लगिएको बताएका छन् ।

 
 
  
 

You may also like