बाढी–पहिरोले कृषि क्षेत्रमा ६ अर्ब बढीको क्षति

by समतल अनलाइन

काठमाडौं । दुई दिन आएको भीषण वर्षासँगैको बाढी–पहिरो र डुबानले मुलुकको कृषि क्षेत्रमा ६ अर्ब बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले संकलन गरेको विवरण अनुसार बाली, पशुपंक्षी धन, माछालगायतमा ६ अर्ब बढीको क्षति देखिएको हो ।

अहिले हामीले प्रारम्भिक तथ्यांक मात्र संकलन भएको र धेरै ठाउँबाट विवरण आउने क्रममा रहेको कृषि मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए । प्रारम्भिक विवरण अनुसार सबैभन्दा धेरै धान खेती नष्ट भएको छ । बाढीले ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट भएको छ ।

बाढी पहिरोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी ३ अर्ब ५० करोड रुपैयाँ बराबर क्षति भएको हो । यस्तै ७० करोड बराबर १३ हजार हेक्टर अलैंची खेती नष्ट भएको छ । अलैंची खेती सबैभन्दा धेरै खोटाङमा नष्ट भएको हो । मधेश प्रदेशको पर्सा लगायत जिल्लामा ८५ हेक्टर क्षेत्रफलको ३४ करोड रुपैयाँ बराबर उखु खेती नष्ट भएको छ ।

फलफूल बगैंचातर्फ २२ हेक्टर नष्ट भएको प्रारम्भिक विवरण कृषि मन्त्रालयले तयार पारेको छ । कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा धेरै बगैंचा नष्ट भएको हो । मन्त्रालयका अनुसार ४ हजार ७ सय ४३ हेक्टर तरकारी बाली नष्ट भएको छ । खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सामा तरकारी बाली धेरै नष्ट भएको हो ।

माछा, पशुजन्यमा पनि उस्तै क्षति

मन्त्रालयका अनुसार कृषि बालीमा मात्र नभई माछापोखरी र पशुपंक्षीको पनि ठूलो क्षति भएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा लगायत जिल्लाका ४ सय ५८ हेक्टर माछापोखरीमा क्षति पुगेको छ । माछामा मात्रै १ अर्ब १३ करोड रुपैयाँ बराबर क्षति भएको छ । पाँचथर, धनकुटा, तेह्रथुम लगायतका २४ पशुगोठमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक तथ्यांक छ । यस्तै २६ हजार २ सय ५ पशुपन्छीको बाढीका कारण ज्यान गएको मन्त्रालयको अनुमान छ । पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लामा गरी पशुधनको क्षति भएको हो । यस्तै दुई वटा कोल्डस्टोरमा क्षति पुगेको छ भने १६ करोड बराबरको कृषि सम्बन्धी भौतिक तथा अन्य संरचनामा क्षति पुगेको छ ।

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए । गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दसैँअघि थन्क्याई सक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् ।

जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । ‘जेठ २९ गते रु ८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने ? चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन’, भने । किसान श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गरेका थिए । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो ।

सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलङ्गेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताइन् । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उनले सुनाइन् । बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिन् । सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसैबाट निर्वाह भएको थियो, पाँच जना परिवारको जीवन । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उनलाई यतिबेला चिन्ता बढेको छ ।

नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए । गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आंकलन छ । सुनकोशमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेसीँफाँट, वडा नं ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं २ को कुखुरेटार, ३ नं वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उनले बताए ।

हरिहरपुरगढी गाउँपालिकामा वाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ । भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन ।

जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताइन् । उनले भनिन्, ‘तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढीपहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।’ कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आंकलन छ । क्षति विवरण सङ्कलन भइरहेको उनले बताए । क्षति विवरण यकिन भएपछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनी बताउँछन् । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए ।

 
 
  
 

You may also like