आमाको माया : लकडाउनमा बिरामी छोरा भेट्न २७ सय किलोमिटर यात्रा !

केरला । एउटी आमालाई आफ्नो सन्तानको कतिसम्म माया हुन्छ भने उनी जस्तै विघ्नमा पनि आफ्नो छोराछोरीलाई सबै भन्दा महत्व दिन्छन् । जस्तै विघ्न वाधा पार गरेर भए पनि आफ्नो छोराछोरीका लागि सबै खाले झमेलासँग जुध्न तयार हुन्न् ।

भारत केरलाकी एक आमाले पनि आफ्नो बिरामी छोरालाई भेट्न यस्तै विघ्नको सामना गरेकी छन् । अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गरेकी छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि सवारी साधनहरु बन्द भएकाले उनले कठिन यात्रा गर्नु परेको थियो । उनले यात्राका क्रममा कतै पैदल त कतै ट्याक्सीको प्रयोग गरेको बताइएको छ ।

यात्राका क्रममा झण्डै छ राज्य पार गरेकी ५० बर्षीया ती महिलाको छोराको जोधपुरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । उनीसँगै एक नातीनी र अर्का एक जना नातेदारले पनि पैदल यात्रा गरेका हुन् । यो यात्राका लागि उनीहरुलाई तीन दिन लागेको थियो ।

लामो यात्रा गरेकी शिलम्मन वासनले जोधपुरबाट पीटीआईसँग कुराकानी गर्दै आफ्नो छोराको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइन । आफ्नो २९ बर्षीय छोरो अरुण कुमारको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनले बताइन । छोरो अरुणलाई मांशपेसीसम्वन्धी रोग लागेको उनको भनाइ छ ।

‘भगवानको कृपाले कुनै ठूलो समस्या विना नै हामी यहाँ आइपुग्न सफल भयौं’, उनले भनिन् । उनले आफूहरु केरलाबाट तमिल नाडु, कर्नाटक, महाराष्ट्र, गुजरात हुँदै राजस्थानको जोधपुरसम्म आइपुगेको जानकारी दिइन् ।

उनीहरु अप्रिल ११ मा हिडेर अप्रिल १४ मा जोधपुर पुगेका हुन । जोधपुरमा सीमा सुरक्षा बल (विएसएफ) मा जवानको रूपमा कार्यरत अरुण कुमार विदा मनाउन गत फेब्रुअरीको अन्त्यतिर आफ्नो घरगाउँ आएका थिए । घरबाट फर्केपछि उनी विरामी परेका हुन् । उनीलाई शुरुमा पखाला लागेको बताइएको थियो । विरामी अरुण कुमारको केरलामा एक बर्षीय बच्चा पनि छ । रासस–पीटीआई

 
 
  
 

You may also like