खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखा प्रमुख रातारात सरुवा

काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखा प्रमुख केशव प्रसाईंलाई सरुवा गरेर मात्रै सरकारले चित्त बुझाएको छैन, कारबाही प्रक्रिया पनि अघि बढाएको छ । ‘अनुशासनहीन’ काम गरेको आरोपमा उनलाई कारबाही गर्ने विभागको तयारी छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयबाट १५ दिनअघि मात्र विभागमा सरुवा गरिएका प्रसाईंलाई मंगलबार राति एकाएक कारागार व्यवस्था विभाग डिल्लीबजार सरुवा गरिएको थियो । उनी २६ चैतमा कारागारमा हाजिर पनि भइसकेका छन् । तर, विभागले ‘ब्याकडेट’मा पत्र जारी गरेर शुक्रबार प्रसाईंसँग स्पष्टीकरण मागेको छ । पत्रमा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै प्रश्न गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले गत सोमबार स्वास्थ्य विभागलाई पत्र लेखेर ४० करोड २२ लाख बराबरको स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर गर्न निर्देशन दिएको थियो । त्यसमा प्रसाईंसहित विभागको आर्थिक प्रशासन शाखाका तीन अधिकारीले मन्त्रिपरिषद्ले जिटुजी प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेकाले त्यस्तै सामग्री खरिद गर्न अर्को टेन्डर खोल्न नहुने भन्दै असहमति जनाएका थिए ।

तर, आर्थिक प्रशासन विभागको सुझाबलाई बेवास्ता गर्दै मंगलबार टेन्डर सूचना प्रकाशित गरिएको थियो । त्यसअघि विभागले एक अर्ब २४ करोडको स्वास्थ्य सामग्री खरिद गर्न गरेको टेन्डर प्रक्रियामा पनि प्रसाईंको असहमति थियो । लामो समय सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत रहेका प्रसाईं सरकारी ढुकुटीबाट खर्च गर्दा कानुनसम्मत हुनुपर्ने अडानमा थिए ।

आर्थिक प्रशासन शाखाबाट अपेक्षाविपरीत राय आएपछि स्वास्थ्य विभाग र मन्त्रालय प्रसाईंसँग चिढिएका थिए । त्यही भएर सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सरुवा भएर आएको दुई सातामै उनलाई कारागार सरुवा गरिएको थियो ।

प्रसाईंले सरुवा भएर अर्कै मन्त्रालयमातहत आइसकेपछि स्वास्थ्य विभागले आफूलाई स्पष्टीकरण सोधेको बताए । ‘२५ चैतमा मेरो सरुवा भएको हो । २६ चैतदेखि कारागार व्यवस्थापन विभागमा हाजिर छु । अहिले म गृह मन्त्रालय अन्तर्गतको कर्मचारी हो । गृह मन्त्रालयको कर्मचारी भएको अवस्थामा पनि मलाई स्वास्थ्य विभागले स्पष्टीकरण सोधेको छ ।

२५ गते सरुवा भएकोमा मलाई त्यही दिनको मिति राखेर पत्र थमाइएको छ’, उनले भने । साथीभाइ र आफन्तसँग सरसल्लाह गरेर स्पष्टीकरणको उचित जवाफ दिने प्रसाईंले बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने सरुवा हुनुअघि नै प्रसाईंलाई स्पष्टीकरण सोधिएको दाबी गरे । ‘उहाँलाई दुई दिनअघि नै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरणको जवाफ आइपुगेको छैन । सरुवा भए पनि उहाँले रमाना अझै पनि लिनुभएको छैन । यी ‘अफिसियल’ कुरा हुन् । सबै भन्न मिल्दैन,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like