नेपालमा कोरोेना हेर्ने डाक्टर २८ जना मात्रै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्स खटाउनु पर्ला ?

अनुमान गर्नुहोस् । संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ ।

अहिले कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा स्थिर अवस्थामा रहेको छ । यसको रोकथाम र उपचारका लागि खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीले आधारभूत सामग्री र उपकरणको अभाव भोगिरहेका बेला संक्रमण बढे परिचालनका जनशक्ति अभाव हुने देखिएको छ ।

भविष्यमा संक्रमित बढी पाइएको अवस्थामा ती जिल्लामा तालिमप्राप्त चिकित्सक र नर्सलाई लैजाने योजना छ । यो जनशक्ति अपर्याप्त रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । प्रादेशिक अस्पतालमा यिनै तालिमप्राप्त स्वास्थ्यकर्मीलाई खटाइने छ ।

अहिले संघीय सरकारले सातवटै प्रदेशमा सहसचिवको नेतृत्वमा तीन ÷तीन जना कर्मचारी खटाएको छ । क्वारेन्टाइनको अवस्था अनुगमन गर्ने, प्रयोगशालाको अवस्था र थ्रोट स्वाबको परीक्षण हेर्ने, कर्मचारी व्यवस्थापनलगायत कार्यको समन्वयका लागि खटिएका छन् ।

प्रदेशमा खटिएका एक सहसचिवका अनुसार कर्मचारी व्यवस्थापनको अवस्था कमजोर छ । ‘यदि कोरोना भाइरसको संक्रमण बढेको अवस्थामा उपचारमा खटिने दक्ष चिकित्सक र नर्सको अभाव खड्किने देखिन्छ’, ती सहसचिवले भने ।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले मुलुुकका ७७ वटै जिल्ला अस्पतालमा चिकित्सकसहित नर्स र पारामेडिक्सलाई तालिम दिनुपर्ने बताए । उनले भने, ‘लकडाउन समयमै नगर्दा नौ जना संक्रमित भेटिए । चिकित्सक र नर्सलाई समयमै तालिम दिएर तयारी अवस्थामा नराख्दा महामारीको अवस्थामा अप्ठ्यारो हुन्छ ।’

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलियो र महामारीको रूपमा लिएको अवस्थामा चिकित्सकलगायत स्वास्थ्यकर्मी अभाव खड्किने देखिएको छ । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायत स्वास्थ्य सामग्रीसमेत पर्याप्त व्यवस्था नभएको अवस्थामा महामारी भए जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएको हो ।

डा. प्याकुरेलले भने, ‘प्रदेश तहमा गएर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टसहित चिकित्सक, नर्स र अहेवहरूलाई तालिम दिनुपर्छ ।’ प्रादेशिक अस्पताल र जिल्ला अस्पताललगायत हरेक अस्पतालमा कम्तीमा ३ देखि ५ जनालाई तालिम दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

संक्रमण बढेको अवस्थामा परिचालनका लागि स्वास्थ्यकर्मीको रोस्टर बनाइएको र आवश्यकताअनुसार परिचालन गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले केही चिकित्सक र नर्सलाई तालिम दिइएको बताए ।

उनले भने, ‘क्रिटिकल केयरसम्बन्धी तालिम दिएर विभिन्न अस्पतालमा तयारी अवस्थामा राखिएको छ । भोलि जुन ठाउँमा आवश्यक पर्छ । त्यहीअनुसार परिचालन गर्छौं ।’ स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको उपचारका लागि संक्रमितलाई राखिने सघन उपचार कक्ष (आईसीयू) सम्बन्धी तालिम दिइएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

सेवा निवृत्तलाई आह्वान

सरकारले कोरोना भाइरस परीक्षण दायरा बढाए पनि तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न सकेको छैन । कोरोना भाइरसको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जनशक्ति व्यवस्थापन गर्ने उद्देश्यले हाल सेवा बाहिर रहनुभएका र सेवा निवृत्त चिकित्सक एवं स्वास्थ्यकर्मीलाई स्वैच्छिक रूपमा आबद्ध हुन आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङ कार्यक्रममा सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीलाई आह्वान गरे । सरकारी छात्रवृत्तिमा पढेका मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकका साथै एमडी–एमएस तथा एमबीबीएस अध्ययनरतलाई परिचालन गर्न गत साता मन्त्रीस्तरीय निर्णय गरिएको थियो। ‘छात्रवृत्तिमा अध्ययनरत चिकित्सक परिचालन गर्न पनि निर्णय भएको छ। यसले जनशक्ति व्यवस्थापनमा ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं’, उनले भने ।

स्वास्थ्य मन्त्रालयमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रअन्तर्गत स्नातकोत्तर तहको दोस्रो र तेस्रो वर्षमा अध्ययनरत चिकित्सक परिचालन गरिने भएको हो ।

अहिले मुलुकका विभिन्न स्थानमा राखिएका क्वारेन्टाइनमा ८ हजार ६ सय ६१ जना व्यक्ति बसिरहेका छन् । त्यस्तै, आइसोलेसनमा १ सय २५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौं उपत्यकामा १५ जना र बाहिर १ सय १० जना छन् ।

अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ९ छ । संक्रमितमध्ये धनगढीस्थित सेती अञ्चल अस्पतालमा चार जना उपचाररत छन् । काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बाग्लुङ धौलागिरि प्रादेशिक अस्पतालमा दुई जना छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । कोरोना भाइरस संक्रमणले दोस्रो चरणमा प्रवेश गरेको एक सातायता नयाँ संक्रमित भेटिएका छैनन् ।

तलब कट्टा नगरिने

कोरोना भाइरसको नियन्त्रण, निदान र उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीको तलब कट्टी नगरिने भएको छ । ११ चैतको मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न तहका कर्मचारीले तीनदेखि सात दिनसम्मको तलब कट्टी गरेर उपचार कोषमा राख्ने निर्णय भएको थियो । संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष खडा गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तलब कट्टी गर्ने निर्देशन जारी नभएको बताए । उनले भने, ‘हालसम्म तलब कट्टी पनि गरिएको छैन । तलब कट्टी गर्ने निर्देशन जारी पनि भएको छैन ।’ चिकित्सक एवं स्वास्थ्यकर्मीले उच्च मनोबलसाथ फिल्डमा खटिन आह्वान गरिएको समेत उनले बताए । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like