कोरोना कहरबीच मानसिक स्वास्थ्य बचाउन किशोरकिशोरीलाई ६ टिप्स

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । नेपालमा समेत यसको प्रभाव देखिएकाले अहिले हामी लकडाउनको स्थितिमा छौँ । कोभिड–१९ को मनोवैज्ञानिक त्रासबाट प्रायः हरेक उमेर समूहका मानिसजस्तै किशोरकिशोरी पनि प्रभावित भएका छन् ।

फुर्सदको समयको सदुपयोग गर्दै साथीहरूसँग घुमघाम र रमाइलो गर्ने स्वभावका किशोरकिशोरी अहिले घरमै सीमित भएका छन् । यस्तो अवस्थामा उनीहरूको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । यहाँ हामीले बच्नका लागि केही टिप्स दिएका छौँ ।

१. चिन्ता र अत्यास लाग्नु सामान्य हो भन्ने बुझ्नुहोस्

तपाईंलाई चिन्ता र अत्यास लागिरहेको छ भने आफू एक्लैलाई मात्रै यस्तो अनुभव भइरहेको छैन भन्ने बुझ्नुहोस् । यस्तो वेलामा सबैलाई चिन्ता र अत्यास लाग्नु सामान्य कुरा हो । विभिन्न माध्यममार्फत गलत सूचना प्रसारित भइरहेका छ्न् । त्यसले झनै चिन्ता बढाउन सक्छ ।

त्यसैले भरपर्दा र विश्वास गर्न सकिने ठाउँबाट मात्रै सूचना र जानकारी लिनुहोस् । इन्स्टाग्राम, युट्युब र फेसबुकमा देखिने, पढिने सबै कुरा भरपर्दा हुँदैनन् । युनिसेफ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आदिका वेबसाइट भरपर्दा स्रोत हुन् ।

२. मन भुलाउने उपाय गर्नुहोस्

आफू निराश हुँदै छु भन्ने लाग्यो भने, कुन कुरा तपाईंको वशमा छ र कुन कुराबारे तपाईंले केही गर्नै सक्नुहुन्न, भन्ने बुझ्नुहोस् । त्यसैले, आफ्नो वशमा भएका कुरामा मात्रै ध्यान दिनुहोस् । जस्तै, होमवर्क गर्ने, टिभी हेर्ने वा नयाँ किताब पढ्ने । आफूलाई रमाइलो लाग्ने कुराले मन भुलाउनुहोस् ।

३. साथीहरूसँग घुलमिल हुने नयाँ उपाय भेट्टाउनुहोस्

दूरी कायम राखिरहनुपर्ने यो समयमा साथीसंगीसँग घुलमिल हुने राम्रो माध्यम सामाजिक सञ्जाल हो । तर, कसरी सम्पर्क कायम राख्ने ? यसबारे सिर्जनशील उपाय सोच्नुहोस् । सबैजना एकैचोटि अनलाइन रहेर गर्न सकिने क्रियाकलाप सोच्नुहोस् । नयाँ कुरा सिक्ने मौका बनाउनुहोस् ।

तर, धेरै लामो समय कम्प्युटर वा फोनको स्क्रिन हेरेर बस्यो भने पनि मन निराश हुन सक्छ । त्यसैले वेलावेलामा इन्टरनेटबाट टाढै बस्नुहोस् । यस्तो समयलाई बरु आफ्नो परिवारका मानिससँग बिताउनुहोस् । घरमै भेट्टाइने सामानबाट नयाँ सामान वा कलाकृति बनाउनुहोस् ।

४. यसलाई अवसरका रूपमा लिनुहोस्

अहिले तपाईंसँग फुर्सदै फुर्सद छ । तपाईंलाई कुनै नयाँ किताब पढ्ने रहर थियो वा कुनै बाजा बजाउन सिक्ने मन थियो अथवा रहर लागेको कुनै सीप सिक्ने मन पक्कै थियो । ती कुरा सिक्ने अहिलेभन्दा राम्रो समय पाइँदैन भन्ने बुझ्नुहोस् ।

त्यसैले, आफूलाई खुसी बनाउने काम गर्नुहोस् । जसले गर्दा निराशा घटेर जान्छ र मन राम्राराम्रा भावनाले भरिन्छ । तपाईंका लागि अहिलेभन्दा राम्रो समय तपाईंले कहिल्यै पाउनुहुन्न भन्ने बुझ्नुहोस् । आफूलाई खुसी बनाउने काम गरे निराशा घटेर जान्छ र मन राम्राराम्रा भावनाले भरिन्छ ।

५. आफ्ना मनका भावनालाई चिन्नुहोस्

तपाईंलाई रहर लागेका धेरै कुरा अहिले गर्न नपाएर मन खिन्न भएको होला । मनमा आएका निराशालाई बेवास्ता गर्दैमा त्यो हराएर जाँदैन, बरु झन् बढ्छ ।

तर, महसुस गरेर चिन्ने हो भने त्यसलाई हटाउन सकिन्छ । त्यसलाई चिनेर कविता बनाइदिनुहोस् । त्यसको अनुहारको चित्र बनाइदिनुहोस्, आफूले जानेको सिर्जनशील शैलीमा आफ्ना भावना पोख्नुहोस् । नजिकका साथीसँग आफ्ना भावना साटासाट गर्नुहोस् ।

६. आफू र अरूप्रति दयालु हुनुहोस्

कोरोनाको समयमा समेत केही किशोरकिशोरी एकअर्काबीच दुव्र्यव्यवहारको सिकार भइरहेका छन् । यो समस्याबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको एकअर्कालाई सहयोग गर्नु हो । दयालु बन्नुहोस् ।

कोही दुव्र्यवहारमा परेको थाहा पाए त्यसलाई रोक्नुहोस् । दुव्र्यवहारको सिकार भएका साथीलाई आफ्नो साथ र हौसला दिनुहोस् । अरू समयभन्दा बढी अहिले हामी आफ्नो व्यवहारबारे सजग रहनुपर्छ । कसैको चित्त दुखाउनुहुन्न, सबैलाई सहयोग गर्नुपर्छ । त्यसैले सोचविचार गरेर व्यवहार गर्नुहोस् ।

(न्युयोर्क टाइम्सका स्तम्भकार डा. लिजा डामौरसँग युनिसेफले गरेको कुराकानीमा आधारित)

 
 
  
 

You may also like