राति मिठो निद्रा लाग्यो भने बिहान उठेपछि मुड फ्रेस हुन्छ, एक किसिमको आनन्दको अनुभूति हुन्छ। शरीरलाई आराम दिन र शरीरलाई तन्दुरुस्त राख्न निद्रा धेरै महत्वपूर्ण छ।निद्रा नलाग्ने समस्या पनि विभिन्न किसिमका हुन्छन् । उठ्ने र सुत्ने समयको टुंगो नहुने मानिसमा निद्रा लाग्दैन । यति मात्रै होइन, मोटोपन, डिप्रेसन, मधुमेहलगायतका समस्या भएका मानिसलाई पनि निद्रा लाग्दैन ।
कुनै रोग नलाग्दा पनि विभिन्न कारणले मानसिक तनाव हुने र त्यसका कारण निद्रा नलाग्ने हुन सक्छ।कुनै रोग लागेर हो कि भन्ने डर हुँदा पनि निद्राको समस्या हुन सक्छ । रोग लाग्दा चिन्ता, दुखाई, डर, मानसिक तनाव आदि कारणले निद्रा नलाग्न सक्छ।पढ्ने वा कम्प्यूटरमा काम गरिराख्नु भएको छ भने सुल्नुभन्दा पहिले करिब आधा घण्टा जति काम गर्न छोड्नुहोस् र रिल्याक्स गर्नुस्।
ओछ्यानमा पल्टिएसँगै मोबाइलमा फेसबुक खोल्ने, च्याटिङ गर्नेलगायतका बानी छन् भने त्याग्नुहोस् । सुत्नुअघि जे–जे गरे पनि बिस्तारामा पल्टिएसँगै मोबाइल साइलेन्समा राखेर सुत्नुहोस् । मोबाइल नचलाउनुहोस् ।
बिहान र बेलुकाको समयमा केही शारीरिक परिश्रम गर्ने यसले शरीरमा स्फूर्ति जगाउँछ। दिउँसो नसुत्ने, दिउँसो केही समय मात्र सुत्यो भने पनि राति छिटो निद्रा लाग्दैन। कफी, कडा चिया वा कोकाकोला जस्ता पदार्थहरु बेलुका पिउन हुदैन । सुत्न जाने उपयुक्त समय भनेको राति १० बजेदेखि १०.३० बजेसम्म हो।
धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा पर्दैन। रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र बेलाबेलामा निद्रा खुल्ने हुन्छ।सुत्न जानुभन्दा १/२ घण्टा अगाडि चुरोट/सुर्ती पदार्थ प्रयोग नगर्दा निद्रा आउन सहज हुन्छ। पेट भोको भयो भने निद्रा लाग्दैन, सुत्नुभन्दा अगाडि धेरै पानी पियो भने पनि पिसाब लागेर उठिरहनुपर्ने हुन्छ र निद्रामा गडबडी आउँछ।
सधैँ करिबकरिब एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने गर्दा निद्रामा प्रायः समस्या आउँदैन। सकिन्छ भने सुत्नुभन्दा एक डेढ घण्टा पहिले मन तातो पानीले नुहाउँदा पनि शरीर रिल्याक्स हुन्छ र निद्रा आउन सहयोग गर्छ। सकभर निद्राका लागि औषधी प्रयोग नगर्नु राम्रो हुन्छ। सुत्नुभन्दा पहिले मनतातो दूध पिउँदा निद्रा लाग्न मद्दत हुन्छ।
धेरै मानसिक तनाव भएर वा विभिन्न रोग लागेर निद्रा नलागेको हो भने तनाव घटाउने र रोगको उपचार गर्नेतर्फ लाग्नु पर्छ।