लक्ष्यप्राप्तिका लागि केहि सुत्र

लिथुआनियाकी ज्याभलिन थ्रोअर इन्गा स्टासियुलिओनिटीले आफ्नो २२ वर्षभन्दा लामो खेलाडी जीवनका दौरान ओलम्पिक तथा विश्व च्याम्पियनसिपसहित थुप्रै प्रतियोगितामा प्रतिस्पर्धा गरिन् । दुई दशक लामो खेलाडी जीवनमा विश्वका उत्कृष्ट प्रशिक्षकको रोहवरमा रहेर अभ्यास गरेकी इन्गाले सन् २०१६ यता मोटिभेसनल साइकोलोजीका विषयमा प्रशिक्षण दिनका लागि ‘अन्बोट्रेनिङ’ नाम अनलाइन कम्पनी खोलेकी छिन् ।

जीवनमा चाहेको लक्ष्य कसरी हासिल गर्ने ? यस विषयमा इन्गाले दिएका १० टिप्स यस्ता छन्

१. आफ्ना प्रतिबद्धतामा फोकस हुनुहोस्

तपाईं आफ्नो लक्ष्यप्राप्तिमा कत्तिको प्रतिबद्ध हुनुहुन्छ ? आफ्नो लक्ष्य तपाईंका लागि कति महत्वपूर्ण छ र त्यो हासिल गर्नका लागि तपाईं के–के त्याग्न तयार हुनुहुन्छ ? यस विषयमा प्रतिबद्ध भएर सोच्नुहोस् । तपाईंलाई आफैँ उत्प्रेरणा प्राप्त हुनेछ ।

२. ज्ञान खोज्नुहोस्

यदि तपाईंले अनुसन्धान, सुधार, विस्तार र प्रयोगमा ध्यान दिनुभयो भने तपाईंको ऊर्जाशक्ति सधैँ उच्च हुनेछ । तर, यदि तपाईंले नतिजामा मात्रै ध्यान दिनुभयो भने तपाईंको ऊर्जा मौसमजस्तै हुनेछ, अर्थात् बतास चलेका वेला त्यो उड्न सक्छ । त्यसैले महत्वपूर्ण कुरा यात्रामा केन्द्रित हुने हो, गन्तव्यमा होइन । तपाईंले के सिक्दै हुनुहुन्छ र के कुरा सुधार गर्न सक्नुहुन्छ भन्ने सोच्नुहोस् ।

३. यात्रालाई रमाइलो बनाउनुहोस्

यो रमाइलो यात्रा हो । यसको भरपुर मनोरञ्जन लिनुहोस् । तपाईं गम्भीर बनेको खण्डमा वा ठूलो मौका सोचेर अघि बढेको खण्डमा तपाईंको काँधमा दबाबको भारी धेरै पर्नेछ । नतिजा, तपाईंको आफ्नै दृष्टिकोणले तपाईंलाई गाह्रो पार्न सक्छ ।

४. परिवर्तनशील हुनुहोस्

तपाईंको दिमागमा सधैँ धेरै सोच हुन्छन् र के कुरामा ध्यान दिने भनेर सधैँ चयन गर्न सक्नुहुन्छ । दुविधामा पार्ने, डर सिर्जना गर्ने र भावनात्मक रूपमा कमजोर बनाउने सोच बोकेर हिँड्ने वा त्यसको सट्टा रोमाञ्चकारी, प्रयोगात्मक र परिवर्तनवादी सोच बोकेर हिँड्ने, तपाईं आफैँ चयन गर्न सक्नुहुन्छ ।

५. कल्पनाशक्तिको प्रयोग गर्नुहोस्

नकारात्मक सोचबाट टाढा भएपछि तपाईंले गर्ने भनेको कल्पनाशक्तिको प्रयोग हो । जब सबै कुरा राम्ररी अघि बढिरहेको हुन्छ, त्यतिवेला तपाईंमा सकारात्मक ऊर्जा हुनेछ । जब तपाईंले अप्ठ्यारो महसुस गर्नुहुनेछ, त्यतिवेला झनै ऊर्जाशील हुन आवश्यक छ । त्यसैले आफ्नो अवस्थालाई सकारात्मक ढंगले फेरि नामकरण गर्नुहोस् । ‘मेरा कामलाई घृणा गर्छु, म कमजोर छु’ जस्ता सोेचाइले तपाईंलाई पछि पार्छन् । अप्ठ्यारोबीच सकारात्मक कल्पना गनुहोस् । तपाईंले खराब हाकिम वा

६. आफैँसँग राम्रो हुन बन्द गर्नुहोस्

कहिलेकाहीँ तपाईंको कामले सोचेजस्तो नतिजा दिँदैन । यस्तो अवस्थामा आफैँसँग राम्रो हुने र अप्ठ्यारो परिस्थितिबाट भाग्ने काम नगर्नुहोस् । हुन त कठिनाइसँग जुध्ने क्रममा कहिलेकाहीँ कमजोर र कहिले डिप्रेसनमा पुग्ने खतरासमेत हुन्छ । तर, हिँड्नुहोस्, अप्ठ्याराहरू पार गर्नुहोस् । सही समय र अवसरको प्रतीक्षा गर्नुको सट्टा आफैँलाई चुनौती दिनुहोस् र मन लागेका काम गर्नुहोस्, यदि तपाईंलाई त्यो काम गर्न डर लागेको छ भने पनि ।

७. समयको बर्बादी

तपाईं गाह्रो काम गर्दै हुनुहुन्छ भने तपाईंले बाटोमा धेरै सहज कुरा भेट्नुहुनेछ, जसले समयको बर्बादी हुनेछ तर लक्ष्यप्राप्तिमा कुनै फाइदा हुनेछैन । त्यस्ता अर्थहीन कुरामा अलमल नगर्नुहोस् । जे महत्वपूर्ण छ, त्यही कुरामा केन्द्रित हुनुहोस् । समय बर्बाद गर्ने कामको सूची बनाउनुहोस् र त्यस्ता काम नगर्न प्रतिबद्ध हुनुहोस् ।

८. अरूको भर नपर्नुहोस्

अरूले तपाईंका लागि गरिदेलान् भनेर कहिल्यै अपेक्षा नगर्नुहोस् । तपाईंको जीवनसाथी, साथी वा मालिकसँग पनि तपाईंले यस्तो अपेक्षा गर्न सक्नुहुन्न । उनीहरू सबै आफ्नै आवश्यकता पूरा गर्न व्यस्त छन् । तपाईं आफूबाहेक अरू कसैले तपाईंलाई खुसी पार्ने वा तपाईंका लक्ष्य प्राप्त गरिदिनेछैनन् । यी सबै तपाईंले मात्रै गर्न सक्नुहुन्छ ।

९. योजना

योजना बनाउनुहोस् । आगाडि तीन कदमका विषयमा जानकार हुनुहोस् । धेरै जानकार पनि हुनुपर्दैन । तपाईंको साप्ताहिक योजनामा कहिले, के र कसरी गर्दै हुनुहुन्छ भन्ने विषय उल्लेख गर्नुहोस् । हरेक दिन तपाईंले के सिक्नुभयो भन्ने सम्झनुहोस् र के सुधार गर्न सकिन्थ्यो भन्ने सोच्नुहोस् ।

१०. विचलित हुनबाट जोगिनुहोस्

आफ्नो लक्ष्यप्राप्तिमा केन्द्रित भएर निरन्तर लागिराख्दा पनि मानिस विचलित हुन सक्छन् । त्यसैले तपाईंले आफूमा देखिएको थकानका संकेतहरू बुझ्न सक्नुपर्छ । त्यस्तो अवस्थामा आराम गर्नुहोस् । तपाईंले आफ्नो साप्ताहिक क्यालेन्डरमा मनोरञ्जन र आरामका लागि समय छुट्याउनुभयो भने तपाईंको शरीर र दिमागले पनि आराम पाउनेछ । फरक कामहरू गर्नुहोस् । टिममा वा एक्लै गर्दा पनि सिर्जनशील र तर्कसंगत काम गर्नुहोस् । काम गर्दा बोरिङ लागेमा स्थान परिवर्तन गर्नुहोस् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

सफल हुनको लागि गान्धीका फर्मुला

महात्मा गान्धी विश्वका यस्ता दार्शनिक हुन् जसले सिद्धान्त अध्ययन गरेर र अर्ती दिएर कसैलाई अनुयायी बनाएनन् अनि बन्नुपर्छ भनेर अड्डी पनि लिएनन् । आफै‌‍ले अनुभव गरेको कुरालाई जीवन आदर्शमा उतारेर त्यसलाई अहिंसाको सिद्धान्त बनाए । त्यसैले उनी अहिंसाका पुजारी बने । विश्वले त्यसरी नै उनलाई चिन्दछ ।

कुनै पनि समस्यालाई गहन रूपमा अध्ययन गरेर समाधानको कारण पत्ता लागाउन सक्नु उनको व्यावहारिक गुण रह्यो । भगवान बुद्धले दुःखको कारण पत्ता लगाएजस्तै उनले पनि आधुनिक जीवनमा विकराल समस्या रहेको स्वीकारेका छन् । विश्वमा समस्याका धेरै प्रकार छन् । जस्तै, गरीबी, धनी र गरीबबीचको विभेद, पूर्व र पश्चिमबीचको मतभेद, उत्तर र दक्षिणबीचको विभेद, आतंकवाद, जातीय युद्ध, उत्पीडन, भ्रष्टाचार, अतिवाद, उन्माद, हिंसा आदि । यी समस्याको समाधान छ भन्ने कुरालाई उनको जीवनआदर्शले प्रमाणित गरिदिएको छ ।

विश्वको राजनीतिक इतिहासमा उनको जीत एउटा चमत्कार नै हो भन्दा हुन्छ । सत्ता परिवर्तनको लडाईंमा अहिलेसम्म त्यसरी एक्लो व्यक्तिको आदर्शमा अहिंसात्मक लडाईं भएर कसैले विजय प्राप्त गरेको पनि छैन ।

अहिंसालाई जीवनचरित्र, साहस, दृढता, संयम र विश्वासका साथ अपनाउन सकियो भने विभेद र अन्यायका विरुद्ध विजय प्राप्त गर्न सकिन्छ भन्ने कुरा उनको जीवनआदर्शबाट जानकारी पाउन सकिन्छ ।

उनका १० वाणीको, जुन सुन्दा सामान्य लाग्न सक्छ, तर यही कुरालाई अवलम्बन गर्दा मानिसको जीवनमा कायापलट आउन सक्छ

१. हामी जस्तो सोच्छौँ, त्यही बन्छौँ

महात्मा गान्धीले भनेका छन् कि हामी जस्तो सोच्छौँ, त्यही बन्छौँ । हामीले तय गरेको लक्ष्य पुग्नुपूर्व नै असफलताबारे सोच्न थाल्यौँ भने साँच्चिकै हामी असफल नै हुन्छौँ । हामीसँग सकारात्मक र नकारात्मक दुवै गुण हुन्छन् । तर, हामीले नकारात्मक विचारलाई मनबाट हटाएर सकारात्मकलाई मात्र राख्न जरुरी हुन्छ ।

२. कहिल्यै पनि हार नमान्नु

भारतलाई स्वतन्त्र बनाउने दौरानमा गान्धीले कैयौँपटक जेलजीवन भोग्नुपर्‍यो । तर, उनले कहिल्यै पनि हार मानेनन् । लगातार स्वतन्त्र भारतको पक्षमा संघर्ष गरिरहे । उसै गरी हामी पनि लक्ष्यप्राप्तिका लागि संघर्ष गर्न थाक्नु हुँदैन ।

३. केलाई प्राथमिकता दिने

हरेक मान्छेले एउटा योजना र लक्ष्य बनाएको हुन्छ । तर, कहिलेकाहीँ मानिस लक्ष्यमै हराउन पुग्छ । किनभने, लक्ष्यको प्राथमिकतामा हामी चुकेका हुन्छौँ । त्यसैले हामीले हाम्रो प्राथमिकताबारे सोचेर अगाडि बढ्नुपर्दछ । हामीले अन्य विषयलाई भन्दा लक्ष्यलाई नै प्राथमिकता दिएर अगाडि बढ्नुपर्दछ ।

४. लक्ष्यको बाटो पनि लक्ष्यजस्तै सुन्दर हुन्छ

गान्धी एक नैतिकवान् मानिस थिए । उनले स्वतन्त्र भारतको आन्दोलनमा कहिल्यै पनि यस्तो कदम उठाएनन् कि जसले उनको अन्तरआत्मामा ठेस पुगोस् । त्यसैले त उनले भारतलाई ब्रिटिस शासनबाट मुक्त गर्नका लागि हिंसाको सहारा लिएनन् । त्यसरी नै हामीले पनि लक्ष्य प्राप्तिका लागि नैतिक बाटोलाई अवलम्बन गर्नुपर्दछ ।

५. कस्तो कुरामा सहमति

कतिपय मानिसले अरूलाई नचिढ्याउनका निम्ति नकारात्मक कुरामा पनि सहमति जानाएका हुन्छन् । यस्तो आचरणले मन नपर्दानपर्दै पनि विभिन्न काम गरिरहेका हुन्छन् । गान्धी भन्छन् कि अरूलाई खुसी बनाउनका निम्ति कहिल्यै पनि नकारात्मक कुरामा सहमति जनाउनु हुँदैन । यदि यसो गरिएन भने मानिसमा आक्रोश र कुण्ठा भरिँदै जान्छ ।

६. अन्तरआत्माको आवाज

हामी पूरै जिन्दगीभर शान्ति प्राप्तिका लागि दौडिरहेका हुन्छौँ । तर, कसरी शान्ति प्राप्त हुन्छ भन्ने कुरामा भने त्यति ध्यान दिँदैनौँ । अरूका कुरा सुनेर निर्णय लिन्छौँ । यदि आफूमा शान्ति छाओस् भन्ने कामना गर्छौं भने अन्तरआत्माको आवाज सुन्न पनि जरुरी हुन्छ ।

७. सदभावले खुसी

आजको युगमा खुसी र सद्भाव दुर्लभ बन्दै गएको छ । तर, गान्धीले सधैँ भन्ने गर्थे कि सद्भावको विचारले साँच्चिकै हामीलाई खुसी दिलाउँछ ।

८. माफ गर्ने

मानिसले कसैलाई माफ गर्न जान्दैन, या कसैलाई माफ गर्नु भनेको कमजोर हुनु हो भन्ने ठान्छ । गान्धीले भनेका छन् कि माफ दिने मानिस नै महान् हो । अरूलाई माफी दिनुलाई उनले सफलताको निशानी ठानेका छन् । अरूलाई माफ गरेपछि स्वयं शान्तिपूर्वक बाँच्न सक्छ ।

९. शारीरिक कि मानसिक शक्ति ठूलो

बलियो शरीरभन्दा दिमागको शक्ति महत्वपूर्ण हुन्छ । गान्धी शारीरिक रूपमा बलिया थिएनन् । तर, उनको मानसिक र इच्छाशक्तिले ब्रिटिस राज्यलाई घुँडा टेक्न बाध्य बनाए ।

१०. पहिला आफूलाई बदल्नुस्

गान्धीले भनेका छन् कि अरूको नकारात्मक प्रवृत्ति हामी निकै छिटो देख्छौँ । तर, आफ्नो बारेमा ख्याल नै राख्दैनौँ । उनका अनुसार सबै व्यक्ति अद्भूत र सुन्दर हुन्छन् । त्यसैले हामीले अरूलाई मद्दत गर्न जान्नुपर्दछ ।

हामी अरूलाई मद्दत गर्छौं भने हामीलाई पनि अरूले मद्दत गर्न थाल्छन् । त्यसैले, सबैमा प्रेम र दयाको भावना हुन जरुरी छ । यस्तो भावनाले जीवनमा अद्भूत परिवर्तन आउन थाल्छ ।

 
 
  
 

You may also like