अमेरिकामा एकै दिन थप २० हजार संक्रमित, ५६५ जनाको मृत्यु

अमेरिका ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिले अमेरिकामा तीव्र देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुक हुँदै अहिले अमेरिकामा तीव्र देखिएको हो । युरोपियन मुलुकमा पनि कोरोनाको संक्रमण अपेक्षा गरेअनुरुप रोकिएको छैन ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ६५ जनाले ज्यान गुमाएका छन् । यो स‌ंगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ४८ पुगेको छ ।

त्यसैगरी अमेरिकामा एकैदिन १९ हजार ९ सय ८८ जनामा संक्रमण देखिएसँगै संक्रमितहरुको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ । अमेरिकामा ५ हजार ५ सय ६ जना संक्रमित उपचारपछि निको भएका छन् । ३ हजार ५ सय १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैगरी इटालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण एकै दिन ८ सय १२ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो समेत गरी कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ। यो नेपाली समयअनुसार सोमबार राति १० बजेसम्मको हो।

यसैगरी त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म १ लाख १ हजार ७३९ जना संक्रमित भइसकेका छन्।

यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ। यो समेत गरेर स्पेनमा कोरोनाले ७ हजार ७ सय १६ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन्।

यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ भने ७ लाख ८४ हजार ३८१ जना संक्रमित भएका छन्।

सँगसँगै १ लाख ६५ हजार ३५ संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

 
 
  
 

You may also like