पोलिथिन मुक्त बन्यो तिलोत्तमा

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ ।

शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्यपोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गर्नुभएको हो ।

जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शुन्य अवस्था र पूर्णसरसफाईका सूचकहरु पूरा गरेसँगै तिलोत्तमालाई खुला पोलिथिन शुन्य र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र घोषणा कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेलाई प्रदान गरिएको हो । यसअघि समितिका पदाधिकारी एवं विज्ञ सहभागी टिमले तिलोत्तमाको अनुगमन गरेको थियो । नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शुन्य पोलिथिन भनिने उल्लेख छ ।

नगरबासीको घर–आँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थलबाट सात महिनाको अवधिमा झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शुन्य पोलिथिन घोषणा गरिएको हो । १२६ वर्ग किलोमिटरमा फैलिएको तिलोत्तमाका नगरबासीले अब उप्रान्त फोहोर जथाभावी नफाल्ने, फालेमा कारवाही भोग्न तयार रहने कसम खाएका छन् ।

कार्यक्रममा मन्त्री भुसालले नेपालमा तिलोत्तमाबाट सरसफाईंको ईतिहासमा नयाँ कामको सुरुवात् भएको बताउँदै शुन्य पोलिथिन अभियान नागरिकको दायित्वबोधसँग जोडिएको बताउनुभयो । शुन्य पोलिथिनलाई फोहोरमाथि धर्तीको विजयीको संज्ञा गर्दै मन्त्री भुसालले यो अभियान कसैले न कसैले सुरु गर्नुपर्नेमा त्यो तिलोत्तमाबाट सुरु हुनु तिलोत्तमाबासीका लागि सुखद् रहेको बताउनुभयो । तिलोत्तमाका हरेक निर्णय नगरबासीको जीवनशैलीसँग जोडिन थालेको बताउँदै उहाँले सरसफाईंमा तिलोत्तमाबाट नयाँ राष्ट्रिय अभियान प्रारम्भ भएको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले तिलोत्तमाबाट सुरु भएको शुन्य पोलिथिन अभियान राष्ट्रव्यापी हुने विश्वास व्यक्त गर्दै यो घोषणा ऐतिहासिक रहेको बताउनुभयो । प्रदेश सांसद दधिराम न्यौपानेले शुन्य पोलिथिन अभियान तिलोत्तमा आसपासका अन्य पालिकाहरुले पनि सञ्चालन गर्नुपर्ने बताउँदै यो अभियान सोंच, आनीबानी रुपान्तरणसँग जोडिएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले लुम्बिनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रख्यात बनाउन शुन्य पोलिथिन अभियान रुपन्देहीका सबै स्थानीय तहहरुमा सञ्चालन गर्नुपर्ने बताउँदै यसमा आफूले अग्रसरता लिने प्रतिबद्धता जनाउनुभयो । सफा, सुन्दर र संस्कारयुक्त व्यवहारले मात्र पर्यटन प्रवद्र्धन गर्न सकिने बताउँदै प्रमुख विश्वकर्माले नेपालमा सुरु हुनुपर्नेमध्येको एउटा काम तिलोत्तमाबाट सुरु हुनु सबैको लागि खुशीको विषय रहेको प्रष्टाउनुभयो ।

तिलोत्तमामा शुन्य पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको छ । नगरका सार्वजनिक स्थानमा कम्तिमा एक हजार डष्टबिन राख्ने नगरपालिकाको योजना छ । फोहोर संकलन कार्यसँगै संकलित फोहोरको व्यवस्थापनका लागि जनसहभागिता वास सहकारीसँगको सहकार्यमा एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण थालिएको छ ।

बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समेटिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । यहाँका विद्यालय तथा टोल–टोलमा माई पकेट, माई फष्ट डष्टबिन अर्थात् मेरो खल्ती, मेरो पहिलो डष्टबिन भन्ने कुराको प्रचार गरिएको छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ भने जथाभावी फोहोर फ्याक्नेलाई कारवाही गर्न आवश्यक स्थानीय कानुन निर्माण गरिएको छ ।

 
 
  
 

You may also like