रुपन्देही उद्योग संघको पहलमा उर्जा दक्षता सम्बन्धी अन्तरक्रिया

बुटवल । उद्योग क्षेत्रमा विभिन्न कारणबाट हुने गरेको अनावश्यक विद्युत खपतलाई कम गरी उत्पादन लागत घटाउन उर्जा विज्ञहरुले सुझाव दिएका छन् । उनीहरुले उर्जा दक्षता कार्यक्रम सञ्चालन भएको अवस्थामा पनि त्यसको प्रयोगमा उद्योगी व्यवसायीहरुले ध्यान नदिएकोमा चिन्ता व्यक्त गर्दै उर्जाको सहि प्रयोगमा ध्यान दिन आग्रह गरेका छन् ।

रुपन्देही उद्योग संघको पहलमा नेपाल उद्योग परिसंघ र उर्जा कार्यक्रम जर्मन सहयोगको संयुक्त आयोजनामा शुक्रवार बुटवलमा भएको विद्युतीय दक्षता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उर्जा विज्ञहरुले सो आग्रह गरेका हुन ।

उनीहरुले नेपालमा जर्मन सहयोगमा विगत १० बर्षदेखि उर्जा दक्षता कार्यक्रम सञ्चालनमा रहेको भएपनि त्यसको उपयोगको निकै कम भएको जनाएका थिए । नेपालमा औद्योगिक क्षेत्रको उत्पादनमा लागत खर्च धेरै भएका कारण विदेशी उत्पादनसंग प्रतिष्पर्धा गर्न गाहे भएको बताउदै प्रतिष्पर्धी बन्न उत्पादन लागत घटाउनु जरुरी भएको हँुदा त्यसको एउटा पक्ष विद्युत खपत कम गर्ने तर्फ सोच्न उनीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा उर्जा विज्ञ डा.संजय गोर्खालीले विद्युतको प्रयोग गर्नुमात्र ठूलो कुरा नभएको भन्दै त्यसको उचित प्रयोग महत्वपूर्ण हुने हुँदा उर्जाको सहि व्यवस्थापनमा ध्यान दिन सकेमा उत्पादन लागत निकै कम हुने बताउनु भयो । डा.गोर्खालीले नेपालको औद्योगिक उत्पादनमा विद्युतको लागत वढि देखिएको हँुदा कम विद्युत खपतका लागि उर्जा दक्षता कार्यक्रममा सरिक हुन आग्रह गर्नु भयो ।

अर्का विज्ञ खेमराज भण्डारीले विद्युत उत्पादन गर्नुभन्दा भएको विद्युतलाई सहि खपत गर्नु व्यवसायीकता भएको बताउनु भयो । उहाँले जनचेतना र प्राविधिक ज्ञानको कमीका कारण हामीले विद्युत खपतमा धेरै लगानी गरेको हुदा उर्जा दक्षता कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिनु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश नंं. ५ का संयोजक एजाज आलमले उर्जा दक्षता कार्यक्रमलाई उद्योगीहरु कार्यान्वयन गर्न सकेमा आर्थिक हिसाबले पनि फाइदा रहेको भए पनि त्यसको पहुँच र कार्यान्वयनमा रहेका जटिलताका कारण त्यसलाई हटाएर उद्योगीहरुलाई लाभ दिन सक्ने गरी कार्यक्रम अगाडी बढाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा स्वागत गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले उर्जा खपत र दक्षताका बारेमा उद्योगीहरुले नै जानकारी पाउन नसकेको भन्दै यसलाई उद्योगी मैत्री र सरल बनाउन नीतिगत रुपमा नै परिवर्तन गर्न सुझाव दिनु भयो । उहाँले यस क्षेत्रका उद्योगीहरुलाई उर्जा दक्षता कार्यक्रममा सरिक हुन आग्रह गर्दै त्यसमा सहयोगीको भूमिका खेल्न उद्योग संघ सधै तयार रहेको बताउनु भएको थियो ।

 
 
  
 

You may also like