प्रदेश सभा प्रदेश नं ५ का प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलको निधन

by समतल अनलाइन

बुटवल । प्रदेश ५ प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा-१४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो । १९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए । उनी प्रदेशसभाकै जेष्ठ सदस्यसमेत थिए ।

२०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल परेका थिए । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव भएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्य सम्म भए ।

पोखरेललाई गत वर्ष माघमा छातीमा क्यान्सरको संक्रमण देखिएको थियो । र पछिल्लो समय शरीरभर फैलिएको थियो । लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई हालै मात्र घर लगिएको थियो ।

२०२० सालदेखि रुपन्देहीको खैरियामा बस्दै आएका पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी छन् ।

 
 
  
 

You may also like