सैनामैना औद्योगिक व्यापार मेला भोलिदेखि

by समतल अनलाइन

बुटवल । उद्योग वाणिज्य संघ सैनामैनाको आयोजनामा मुर्गियामा भोलिदेखि सञ्चालन हुने व्यापार मेलाको तयारी पूरा भएको छ । सैनामैनालाई मेला महोत्सवमार्फत सैनामैनाको बुद्धकालीन सभ्यतालाई उजागार गर्ने आयोजकको लक्ष्य छ । मेलाको पूर्वसन्ध्यामा मेला स्थल मुर्गियाको रंगशालामा पत्रकार सम्मेलन गर्दै आयोजकले मेलाको तयारी पूरा भएको बताएका छन ।

पुस २४ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने मेलामा दुई लाख ५० हजार दर्शकलाई अवलोकन गराउने र पाँच करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । मेलाको उद्घाटन सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले गर्ने कार्यक्रम रहेको छ ।

मेलामा स्थानीय कृषि उत्पादन, हस्तकला र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको संघका अध्यक्ष राजबहादुर क्षेत्रीेले बताए । उनले सैनामैनामा कृषि, पर्यटन र उद्योगको सम्भावना धेरै रहेको भन्दै सबैको सहकार्यमा त्यसलाई साकार पारिने बताए ।

व्यापार मेलाले स्थानीयस्तरमा उद्यमशीलता विकास, ब्यापार विविधीकरण र सैनामैनालाई राष्ट्रियस्तरमा पहिचान दिलाई पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अध्यक्ष क्षेत्रीको भनाइ छ ।

मेलाको प्रवेश टिकट बिक्रीबाट प्रति टिकट एक रुपैयाँ सामाजिक कार्यमा खर्च गरिने र मेलालाई सफल बनाउनका लागि स्थानीय सरकारदेखि यहाँका सामाजिक संघ संस्था र नागरिक समाजले सहकार्य गरिरहेको मेला मूल आयोजक समितिका सदस्य सचिव तथा संघका महासचिव दीपक अधिकारीले जानकारी दिए ।

 
 
  
 

You may also like