यस वर्ष रोनाल्डोले तोड्न सक्नेछन् यी कीर्तिमान

by समतल अनलाइन

एजेन्सी
विश्व फुटबलमा विभिन्न ऐतिहासिक कीर्तिमान बनाएका क्रिस्टियानो रोनाल्डोका लागि यो वर्ष थप कीर्तिमान आफ्नो नाममा लेखाउने अवसर छ।

३४ वर्षीय पोर्चुगाली स्ट्राइकर रोनाल्डोले युभेन्टसलाई तेस्रो च्याम्पियन्स लिग उपाधि जिताउने आशा गरिएको छ, जुन सन् १९९५-९६ पछिको पहिलो उपाधि हुनेछ। साथै, युभेन्टस नवौं पटक सिरी ए च्याम्पियन बन्ने दौडमा पनि छ।

त्यसैले, रोनाल्डोका लागि २०२० मा नयाँ कीर्तिमान बनाउने सुनौला अवसर छन्।

क्लबस्तरमा मात्र नभई रोनाल्डोले यसै वर्षभित्र पोर्चुगलको राष्ट्रिय टोलीबाटसमेत नयाँ कीर्तिमान बनाउन सक्नेछन्।

रियाल मड्रिड तथा म्यानचेस्टर युनाइटेडका पूर्वस्टार रोनाल्डोले यो वर्ष कुन-कुन कीर्तिमान तोड्लान त?

सर्वाधिक युरोपियन कप विजेता

रियाल मड्रिडले दुई वर्ष अघि फाइनलमा लिभरपुललाई पराजित गरेर च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोको लागि त्यो पाँचौं सफलता थियो। यदि, यो वर्ष युभेन्टसलाई च्याम्पियन्स लिगको उपाधि जिताउन सके भने रोनाल्डोले हालसम्म सर्वाधिक युरोपियन कप जित्ने एक मात्र खेलाडी फ्रान्सिस्को गेन्टोको कीर्तिमान बराबरी गर्नेछन्। फ्रान्सिस्कोले सन् १९५६-६६ को अवधिमा रियाल मड्रिडबाट ६ पटक उक्त उपाधि जितेका थिए।

युरोपियन च्याम्पियनसिपको सर्वकालीन उच्च गोलकर्ता

युरोपियन च्याम्पियनसिपमा रोनाल्डोले पोर्चुगलबाट ९ गोल गरिसकेका छन्। उनी मिचेल प्लाटिनीसँगै हालसम्म युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन्। यदि, रोनाल्डोले २०२० मा पोर्चुगलबाट गोल गरे भने उनी युरोको सर्वकालीन उच्च गोलकर्ता बन्नेछन्।

च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक

रोनाल्डो र मेसी च्याम्पियन्समा लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। हालसम्म दुवै खेलाडीले समान ८/८ ह्याट्रिक गरिसकेका छन्। यो वर्ष बार्सिलोनाका स्टार मेसीलाई पछाडि पार्न सके रोनाल्डोले प्रतियोगितामा सर्वाधिक ह्याट्रिकको कीर्तिमान आफ्नो नाममा लेखाउन सक्नेछन्।

 

सर्वकालीन अन्तर्राष्ट्रिय उच्च गोलकर्ता

रोनाल्डो हाल सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा रहेका छन्। उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट हालम्म ९९ गोल गरिसकेका छन्, जुन सर्वाधिक गोलकर्ता इरानका अली डाअीको भन्दा मात्र १० गोल कम हो।

अली १ सय ९ गोलसहित शीर्ष स्थानमा रहेका छन्। यो वर्ष राष्ट्रिय टोलीबाट खेल्दै अलीको उक्त कीर्तिमान तोड्ने अवसरसमेत रोनाल्डोलाई रहेको छ। राष्ट्रिय टोलीबाट ११ गोल गर्न सके रोनाल्डो उक्त कीर्तिमान तोड्न सफल हुनेछन्।

 

 
 
  
 

You may also like