उपलब्धि उल्ट्याउन कोसिस गर्नेलाई फोहोरको डंगुरमा मिल्क्याइने छ : नेकपा अध्यक्ष प्रचण्ड

by समतल अनलाइन

काठमाडौं,२५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै प्रचण्डले नागरिकमा आएको राजनीतिक तथा सामाजिक जागरणसहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे ।

परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहोरको थुप्रोमा मिल्क्याइने चेतावनी दिए ।

‘जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन,’ प्रचण्डले भने, ‘इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछानमा मिल्क्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।’

उनले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको दाबी गरे । प्रचण्डले पुराना सोच, संरचना, मूल्यमान्यतालाई व्यवहारतः विस्थापित गरी नयाँ सोच, मूल्यमान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतन पक्षधरहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औल्याए ।

प्रचण्डले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीतिअनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठूलो भूमिका रहेको भन्दै प्रभावकारी भूमिका निर्वाहका लागि आग्रह गरे ।

 
 
  
 

You may also like