बुटवल । २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको सिभिल निर्माणतर्फको ठेक्का सम्झौता गरिएको छ । बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभीबीच आइतबार काठमाडौमा ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो । भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण कम्पनीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्तक्षर गर्नु भएको छ ।
सम्झौतामा हस्ताक्षर कार्यक्रममा दिइएको जानकारीअनुसार रसुवा–लुना जेभीले सिभिल निर्माणतर्फको ठेक्का रु एक अर्ब २० करोडमा लिएको छ । निर्माण कम्पनी सम्झौतामा २७ महिनाको समय सीमा दिइएको भएपनि दुई बर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मङ्सिर ६ गते विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरीमा आयोजना निर्माण हुनेछ । आयोजनामा स्थानीयवासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीले जनाएको छ ।
एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको छ ।
प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्तिले मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ। स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइनेछ।
आयोजनाबाट उत्पादित विद्युत् कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिनेछ। अध्यक्ष पोखरेलले आयोजना तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर उदाहरणीय बन्ने अठोट व्यक्त गर्नुभयो । उहाँले आयोजनामा धेरैभन्दा धेरै लगानीकर्ताको सहभागिताका कारण धेरैको चासो रहेकाले समयभन्दा अगावै सम्पन्न गरिसक्नुपर्ने अवस्थामा रहेको बताउनु भयो ।
यस्तै रसुवा–लुना जेभीका कार्यकारी निर्देशक आचार्यले तोकिएको समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउदै अनुकरणीय आयोजना बनाउने अभिलाषा आफुहरुमा पनि रहेको बताउनुभयो ।
आयोजनाको इञ्जिनीयरिङको काम हाइड्रो कन्सल्टले गरिरहेको छ। सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोहरलाल श्रेष्ठले प्राविधिक तयारीमा कुनै कन्जुस्याइँ नगरिएको जानकारी दिँदै आयोजना आकर्षक रहेको विवरण प्रस्तुत गर्नुभयो ।
आयोजनाका प्रवद्र्धक समेत रहेका स्थानीयवासी बमबहादुर गुरुङले स्थानीयवासीलाई विश्वासमा लिएर काम गराउन आफू प्रतिबद्ध रहेको र स्थानीयबाट पुरै सहयोग हुने दावी गर्नुभयो । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका सल्लाहकार गणेशकुमार श्रेष्ठले नदी प्रवाही आयोजना भए पनि आकर्षक र ऊर्जा उत्पादनका हिसाबले पनि महत्वपूर्ण रहेको जानकारी दिनुभयो ।
निकट भविश्यमा नै हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल तर्फको निर्माण व्यवसायी समेत छनोट गरिने आयोजनाले जनाएको छ ।