नारायणी नदीमा मिनी पानीजहाजको सफल परीक्षण

by समतल अनलाइन

चितवन । आइतबार नारायणी नदीमा २ सय २० यात्रु क्षमताको क्रुजसीपको सफल परीक्षण गरिएको छ। परीक्षणमा चालक दलका केही सदस्य र सञ्चालकहरु रहेका थिए । पानीजहाज बनाउन तयार गरिएको पोर्टबाट करिब एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन मिनी पानीजहाजमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् । यसअघि दशैं अगाडि नै तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य लिइएको भए पनि डिजाइनमा केही परिवर्तन गर्नु परेकाले समय र लागत दुवै बढेको कम्पनीका प्रवन्ध निर्देशक कँडेलले बताए ।

कँडेलका अनुसार मिनी पानीजहाजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ । यहाँ बैठक पनि गर्न सकिन्छ । दोस्रो तलाको एक छेउमा विशिष्ट व्यक्तिका १० सिट छुट्याइएको छ ।

गत वर्ष चैतबाट थालिएको मिनी पानीजहाजको निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइ रहेको छ ।

 
 
  
 

You may also like