राजनीतिक प्रतिवेदनमा चर्काचर्की, तर पारित

by समतल अनलाइन

काठमाडौं। एक साता चलेको नेकपा स्थायी कमिटी बैठक चर्काचर्कीबीच आइतबार सकिएको छ । अन्तिम दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजीतिक प्रतिवेदन पारित गर्ने क्रममा कडै भनाभन चल्यो ।

त्यसअघि झण्डै पूरै बैठक अवधि अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) अनुमोदनबारे झगडामा केन्द्रित रह्यो । एमसीसीबारे निर्णय भने अब सचिवालयले गर्ने भएको छ ।

राजनीतिक प्रतिवेदन पारित गर्न प्रस्ताव गर्ने बेला महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच चर्काचर्की परेको थियो । अध्यक्ष दाहालले प्रतिवेदन सुझाव समेटेर परिमार्जन गर्ने भन्दै पारित गर्न प्रस्ताव गरेका थिए ।

‘हामी विशिष्ट परिस्थितिबाट गुज्रिरहेका छौं । यसमा कुनै बनिबनाउ बाटो छैन । त्यही आधारमा यो प्रतिवेदन तयार भएको हो’, उनले प्रतिवेदन पारित गर्न आग्रह गर्दै प्रस्ताव राखेका थिए, ‘तपाईंहरूका कतिपय सुझाव राम्रा छन्, ती सुझावसहित परिमार्जन गर्ने गरी प्रतिवेदन पारित गर्न म प्रस्ताव गर्छु ।’

प्रतिवेदन पारित पनि भयो । त्यसपछि उठेर बोल्न थाले स्थायी समिति सदस्य रावल । ‘यसमा मेरो फरक मत छ । प्रतिवेदनमा एमसीसीबारे प्रस्टता छैन । पार्टीको विधि र विधानका विषयमा प्रस्टता हुनुपर्‍यो’, उनले भने, ‘यसकारण पार्टीको यो प्रतिवेदनमा मेरो फरक मत छ ।’

उनले १० पृष्ठको लिखित फरक मत बैठकमा देखाए । त्यसपछि केही बेर रावल र महासचिव पौडेलबीच चर्काचर्की परेको एक नेताले बताए । ‘पार्टीले निर्णय गरेको छैन । निर्णय नगरीकनै तपाईं कसरी १० पृष्ठको लिखित फरक मत लिएर आउनुभयो ?

जेमा पनि यसरी फरक मत भन्ने हुन्छ ? ’, पौडेलले भने, ‘यो तपाईंले अहिले लेखेको हो ? यही हो विधि र प्रक्रिया ? फरक मत राख्न पाइँदैन भन्ने होइन, पाइन्छ । निर्णय भयो भन्नेबित्तिकै मान्दिनँ भन्ने हो ? (तयारी) फरक मत ल्याएको छु भन्ने ?’ अन्नपूर्ण पोष्टबाट

 

 
 
  
 

You may also like