अब आफ्नो घरमा उत्पादन भएको सौर्य उर्जा बेच्न सकिने

by समतल अनलाइन

काठमाडौं । आवासीय घरमा उत्पादन भएको सौर्य ऊर्जालाई बिक्री गर्न चाहनुहुन्छ ? त्यसो भए नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गर्न ढिला नगर्नुहोस् । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन जडान गरेका घरधनीले मात्र सौर्य ऊर्जा बिक्री गर्न सक्ने छन् ।

घरमा उत्पादन भएको सौर्य ऊर्जालाई प्राधिकरणले प्रतियुनिट सात रुपियाँ ३० पैसामा खरिद गर्नेछ । घाम लागेका बखत घरको छानामा उत्पादित सौर्य ऊर्जालाई प्राधिकरणको तार हुँदै विद्युत् वितरण प्रणालीमा जोड्न सकिन्छ ।

व्यक्तिले महिनाभरि प्राधिकरणको विद्युत् खपत गरेको र निजले प्राधिकरणलाई बिक्री गरेको विद्युतीय ऊर्जाको हिसाब गर्दा खपत गरेकोभन्दा बढी ऊर्जा बिक्री गरिएको पाइएमा त्यसबापतको रकम समेत प्राधिकरणबाट प्राप्त हुनसक्छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बढी भएको बिजुली व्यक्तिले आफूहरूलाई बिक्री गर्नसक्ने बताउँदै भने, ‘प्राधिकरणका जुनसुकै शाखाबाट पनि यस्तो सुविधा लिन सकिन्छ । प्राधिकरणको विद्युत् खपतभन्दा व्यक्तिको घरबाट उत्पादन भएको ऊर्जा बढी भएमा हिसाब गरेर रकम पनि दिन्छौं ।’ गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like