‘देश गम्भीर अवस्थामा छ, हामी सबै गम्भीर हुनुपर्छ’- बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक गम्भीर अवस्थामा रहेको बताएका छन् । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको पाल्पा–काठमाडौं सम्पर्क समितिले शुक्रबार कमलादीमा आयोजना गरेको सम्मान कार्यक्रममा वरिष्ठ नेता पौडेलले मुलुकको अवस्थाप्रति सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । “देश अहिले गम्भीर अवस्थामा छ । देशको अवस्थालाई लिएर हामी सबै राजनीतिक दल, बुद्धिजिवी, सचेत नागरिकहरु गम्भीर बन्नुपर्छ,” उनले भने । नेता पौडेलले राजनीति सफा नभएसम्म मुलुक अगाडि बढ्न नसक्ने पनि बताए ।

७० वर्ष लामो संघर्षपछि प्राप्त व्यवस्थालाई सबैले मिलेर सफल बनाउनुको विकल्प नभएको उनको भनाइ थियो । “७० वर्षको लामो संघर्षपछि राजनीतिक प्रणालीलाई एउटा टुंगोमा पु¥याएका छौं,” नेता पौडेलले भने, “देशको अहिलेको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनुको विकल्प छैन ।” उनले अहिलेको वयवस्थाप्रति जनतामा निराशा र वितृष्णा देखिएको भन्दै जनतामा वयवस्थाप्रति देखिएको निराशा र वितृष्णाप्रति गम्भीर बन्नुपर्ने अवस्था रहेको बताए । “जनतामा अहिलेको व्यवस्था, राजनीतिप्रति निराशा देखिएको छ । वितृष्ण देखिएको छ,” पौडेलले भने, “यसको कारण खोज्नुपर्छ । हाम्रा कुन क्रियाकलापले जनतामा किन निराशा छायो, किन वितृष्णा जाग्यो भन्ने प्रति गम्भीर हुनुपर्छ ।” नेविसंघको पाल्पा–काठमाडौं सम्पर्क मञ्चले पाल्पा घर भइ काठमाडौंमा अध्ययनरत २०७५ सालको एसईई परिक्षा र प्लस टु परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।

 
 
  
 

You may also like