गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल

by समतल अनलाइन

बुटवल।व्यावसायिक रुपमा सञ्चालनको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन पूर्व तयारीबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला एयरलाइन्ससँग छलफल गरेको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन तयारी कार्यदलले अन्तरराष्ट्रिय वायुसेवा प्रदायक कम्पनीका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेको हो । अन्तरराष्ट्रिय मापदण्ड बमोजिम विमानस्थल सञ्चालन पूर्व गर्नुपर्ने तयारी र अभ्यासलाई मध्यनजर गरी कार्यदलले नेपालमा उडान भर्ने वायुसेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग रायसुझाव लिइएको कार्यदलका संयोजक प्रतापबाबु तिवारीले राससलाई जानकारी दिनुभयो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अहिले तीन नेपालीसहित २८ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । छिट्टै थप तीन अन्तरराष्ट्रिय एयरलाइन्सले उडान भर्ने तयारी गरेका छन् । नयाँ विमानस्थल सञ्चालन आउनुअघि एयरलाइन्सका प्रतिनिधिसँगको व्यावसायिक अभ्यासलाई मध्यनजर गरी उनीहरुको सुझाव महत्वपूर्ण हुने भएकाले छलफल गरिएको संयोजक तिवारीले बताउनुभयो । सो अवसरमा प्राधिकरणकोतर्फबाट विमानस्थलको भौतिक काम सकेर उपकरण जडानको अवधिभित्र सबै तयारी गरेर उडानयोग्य बनाउन एयरलाइन्सलाई आग्रह गरेको थियो ।

विमानस्थलले उपलब्ध गराउने सुविधामा कुनै कमी आउन नदिने, विमानस्थलको सबै सेवालाई सुरक्षित, व्यवस्थित र चुस्त बनाउन प्राधिकरणले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको थियो । जवाफमा एयरलाइन्सले विमानस्थल कहिले सञ्चालनमा आउने र के कस्ता आकर्षक सहुलियत प्याकेज हुन्छन् त्यसबारे प्राधिकरणसँग धारणा मागेका थिए । अन्तरराष्ट्रिय हवाई मापदण्डअनुरुप वर्षमा दुई पटक मार्च र अक्टोबर महिनामा विमानस्थलको उडान तालिका बनाइन्छ । सोही तालिकालाई ‘मिट’ गर्नेगरी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ । त्यो भनेको सन् २०२० को मार्च महिना हो । यो विमानस्थल मार्च महिनाभित्रै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ । हाल विमानस्थलको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले केही दिनअघि रासससँगको कुराकानीमा गौतमबुद्ध विमानस्थल पूर्वनिर्धारित समयअनुरुपनै सञ्चालनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको थियो । एयरलाइन्सका प्रतिनिधिले विमानस्थल सञ्चालनपूर्व चारदेखि छ महिनाअघिनै पूर्व तयारी चाहिने बताएका थिए ।

उनीहरुले सेवा सञ्चालनका लागि आकर्षक प्याकेज कस्ता छन् भूमिस्त सेवा, क्याटरिङ, लाउन्जस्तरीय हुन्छन् की हुदैनन् जस्ता प्रश्न उठाएका थिए । हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलजस्तो समस्या दोहोरिन नहुने पनि उनीहरुले सुझाएका थिए । प्राधिकरणले विमानस्थलको कुनै पनि सेवामा सम्झौता नगर्ने सुरक्षालगायतलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएको थियो । रासस

 
 
  
 

You may also like