अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट सम्पन्न

बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ। कलेजमा बिएचएममा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा मंगलबार फुड फेस्टिवलसँगै लाइभ कन्सर्ट र रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

फेस्टिवलमा विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरेका थिए, जसमा चिकेन छोइला, चिकेन मोमो, चिकेन स्वर्मा, फ्राइड चिकेन, भेज छोइला, भेज स्वर्मा, खाजा सेट लगायतका स्वादिष्ट परिकारहरू समावेश थिए। यी परिकारहरू कलेज प्रशासन, प्रध्यापक, शिक्षक तथा विद्यार्थीहरूले स्वाद लिएका थिए।

बिएचएम/बिआइएम कार्यक्रमका संयोजक ओमबहादुर खत्रीका अनुसार विद्यार्थीहरूले तयार पारेका परिकारहरूलाई न्यूनतम मूल्यमा उपलब्ध गराइएको थियो। फुड फेस्टिवलमा बिएचएम/बिआइएमका विद्यार्थीहरूलाई प्रध्यापक विवेक न्यौपानेले मार्गदर्शन गरेका थिए। लाइभ कन्सर्टमा विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए, जसले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका पूर्व अनुसन्धान केन्द्रका निर्देशक कृष्णचन्द्र शर्माले आधुनिक युगमा सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षाको महत्त्व बढ्दै गएको बताए। व्यवस्थापन समितिका अध्यक्ष डा. अजित खनालले अक्सफोर्ड कलेजले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक रूपमा दक्ष बनाउन विभिन्न अतिरिक्त कार्यक्रमहरू आयोजना गर्दै आएको बताए।

कलेजका क्याम्पस प्रमुख मनोज मरासिनीका अनुसार फुड फेस्टिवल तथा सांगीतिक कार्यक्रम विद्यार्थीहरूको व्यावहारिक शिक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। उनले बिएचएम अध्ययनरत विद्यार्थीहरू इन्टर्नशिपका लागि युरोपका विभिन्न मुलुकहरूका साथै थाइल्याण्ड, कतार, युएई लगायतका देशहरूमा पठाइने जानकारी गराउँदै विद्यार्थीहरूले त्यहाँ सिकेको ज्ञान र सीपको उपयोग गर्दै आम्दानीसमेत गर्न थालेको बताए।

फेस्टिवलसँगै आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णु खनालले जानकारी दिए। रक्तदान कार्यक्रम रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। फुटसल र वेभ डिजाइning प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

फेस्टिवल तथा कन्सर्ट कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व अनुसन्धान केन्द्रका निर्देशक कृष्णचन्द्र शर्मा, अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, व्यवस्थापन समितिका सदस्य धर्म पौडेल, प्राचार्य दिनेश भुसाल, होराइजन गौतम बुद्ध माविका प्राचार्य गोपालप्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल, प्रध्यापक नारायण सापकोटा, बालकृष्ण पोखरेल, भ्वाइस प्रिन्सिपल मोहन क्षेत्री, विश्वास ढकाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

वि.सं. २०५९ सालमा स्थापना भएको अक्सफोर्ड कलेजले उत्कृष्ट शैक्षिक नतिजा ल्याउँदै आएको छ। कलेजले सन् २०६७ मा बिएडतर्फ नेपाल प्रथम, बिबिएसतर्फ नेपाल द्वितीय स्थान हासिल गरेको थियो।

त्यस्तै, २०७९ मा बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम तथा बिआइएम पाँचौं सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको थियो। साथै, बिबिएस चौथो वर्षमा पनि नेपाल द्वितीय स्थान हासिल गरेको विभागीय प्रमुख विष्णु बस्यालले जानकारी दिए।

कार्यक्रमको सञ्चालन आकृति सुवेदी, विपिन खत्री, सोनमा गुरूङ, मेघना सिंह, दिक्षा भट्टराई र प्रकृति न्यौपानेले गरेका थिए।

यो फुड फेस्टिवल तथा लाइभ कन्सर्टले विद्यार्थीहरूको व्यावहारिक शिक्षालाई नयाँ आयाम दिने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

 
 
  
 

You may also like