सैनामैना । रूपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा फर्साटिकर युवा क्लब विजयी भएको छ। सोमबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन फर्साटिकरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
सैनामैना–४, मुर्गियास्थित सैनामैना फुटबल रंगशालामा भएको खेलमा फर्साटिकरका लागि गणेश हमाल नायक बने। उनले पहिलो हाफको २९औं र दोस्रो हाफको ६४औं मिनेटमा गोल गर्दै टिमलाई शानदार जित दिलाए। हमाललाई खेलको ‘म्यान अफ द म्याच’ घोषित गर्दै नगद ५ हजार रुपैयाँ प्रदान गरिएको प्रतियोगिता संयोजक अशोक खड्काले जानकारी दिए।

अब प्रतियोगिताअन्तर्गत बुधबार हुने खेलमा एपीएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुरबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो ३ बजे सुरु हुने खेलको तयारी पूरा भएको टिम संयोजक श्री दर्लामिले बताए।
फागुन २८ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग तथा मोफसलका उत्कृष्ट क्लबसहित १० टोलीको सहभागिता रहेको छ। यसअघि गोर्खा ब्वाइज स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिसकेका छन्।
प्रतियोगिताको विजेता टोलीले नगद ७ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै, सेमीफाइनलमा पुगेर बाहिरिने टोलीहरूले समान ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजक मुर्गिया फुटबल क्लबले जनाएको छ।