तराईका बस्तीमा बाढी, लुम्बिनी प्रदेश सरकारका मन्त्रालय डुबानमा

काठमाडौँ । लगातारको वर्षापछि तराईमा बाढीले बस्ती डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । पर्साको वीरगञ्ज, दाङको देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा परेका हुन् ।

अविरलको वर्षाले लुम्बिनी प्रदेश सरकारका मन्त्रालयहरू डुबानमा परेका छन् । दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशको राजधानीमा केही मन्त्रालय डुबानमा परेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुनमगरले जानकारी दिए ।

‘दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको छ’ उनले भने, ‘केही क्षेत्रमा कन्ट्रक्सनको काम भइरहेकाले पनि पानी पसेको हो । मन्त्रालयका भवनहरू नालीभन्दा तल हुँदा समस्या देखियो ।’ अहिले यस क्षेत्रमा ठूलो पानी परिरहेको छ । राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाको पानीको सहज निकास छैन । जसले गर्दा समस्या आइरहेको हो ।

यस्तै वीरगञ्ज महानगरका छपकैया, बजार छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायतका ठाउँ डुबानमा परेका छन् । पानीलाई निकास दिन उपकरणसहित कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए ।

कोशी र मधेस, लुम्बिनीसहित नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन मौसमविदले आग्रह गरेका छन् । यस्तै लगातारको झरीले काठमाडौँ उपत्यकाका सबै नदी र खोलामा बाढी आएको छ । बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोला नदीमा बाढी आएको हो ।

बागमती नदीले खतराको तह पार गरेकाले नदी किनारमा रहनेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बाढी आएका अरू नदी र खोला आसपासमा बस्नेलाई पनि सुरक्षित हुन भनिएको छ । लगातारको झरीले काठमाडौंको सोह्रखुट्टे, पुतलीसडक, ललितपुरको धापाखेल लगायतका सडक जलमग्न भएका छन् । देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण सडक अवरुद्ध छन् । सिद्धार्थ राजमार्ग, विपी राजमार्ग, कर्णाली राजमार्गसहित हेटौँडा–काठमाडौँ सडकखण्ड, कान्ति राजपथको ललितपुर खण्ड, लमजुङको बेशीसहर चामे सडक, घोराही–तुलसीपुर सडक अवरुद्व छन् ।

 
 
  
 

You may also like