तिलौराकोटमा सेनाको टोलीद्वारा सरसफाई सुरु

by समतल अनलाइन

भैरहवा।कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाई सुरु गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले पदस्थापना लगतै तिलौराकोटको निरीक्षण भ्रमण गरेर झाडी सफाईका लागि नेपाली सेनासँग समन्वय गरेपछि सरसफाई सुरुवात भएको हो ।

बिहीबारदेखि नेपाली सेनाको शमसेर दल गण गोरुसिंगेबाट खटिएका ३५ जना सेनाको टोलीले प्राचिन कपिलवस्तु दरबार क्षेत्रमा सरसफाई गरेका हुन । यो टोलीले लगातार १५ दिनसम्म सरसफाई गरिने जनाइएको छ ।

उपाध्यक्ष डा. लामाले गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र ऐतिहासिक र बौद्धिष्टहरुको आस्थाको केन्द्र भएकाले सरसफाई गरी सौन्दर्यकरण गर्ने प्रतिवद्धता जनाएका थिए । उपाध्यक्षको प्रतिवद्धताअनुसार झाडी सफाईका लागि नेपाली सेनासँग समन्वय गरेर शुरुवात गरिएको कोषका कार्यकारिणी सदस्य गोपीकृष्ण शर्माले जानकारी दिए ।

गणका सहायक सेनानी रामचरण चौधरीको नेतृत्वको ३५ सदस्यीय टोलीले १५ दिनसम्म दरबार क्षेत्रमा सरसफाई गर्नेछ। आफूहरुले विगतमा पनि यस क्षेत्रको सरसफाई गर्दै आएको र कोषको निर्देशनअनुसार सरसफाई कार्य गर्ने सहायक सेनानी चौधरीले बताए । उक्त अवसरमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भीम बस्नेत, सुरक्षा प्रमुख खगेन्द्र काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

तिलौराकोट दरबार क्षेत्रलाई प्रस्तुतीयोग्य बनाउन सेनाको सहयोगमा प्रत्येक वर्ष सरसफाई गरिदै आएको कोषका तिलौराकोट कार्यालयका प्रमुख माधव प्रसाद आचार्यले बताए । विश्व सम्पदा सूचीको प्रस्तावित साईट पनि भएकाले प्रस्तुतीयोग्य बनाउन सफाई कार्य गरिदै आएको आचार्यले स्पष्ट पारे । तिलौराकोट दरबार राजा शुद्धोधनको गणराज्य तथा सिद्धार्थ गौतमले युवा अवस्थासम्म २९ वर्ष बिताएको स्थान हो ।

 
 
  
 

You may also like