रुपन्देहीको सोना इट्टा उद्योग पहिलो बालश्रम मुक्त घोषणा

by समतल अनलाइन
Shares

हरिश ढकाल
सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको जिल्लाकै पुरानो ईट्टा कारखाना मध्येको सोना इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिएको छ । रुपन्देहीमा सञ्चालित ५८ वटा इट्टा उद्योगहरुमध्ये आवश्यक मापदण्डहरु पुरा गरि बालश्रम मुक्त घोषणा हुनेमा सोना इट्टा उद्योग पहिलो उद्योग बनेको हो ।

बालश्रम मुक्त उद्योग घोषण गर्नका लागि आवश्यक पर्ने सबै मापदण्ड पुुरा गरेपछि सोना इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले जनाएको छ । उद्योगमा काम गर्ने मजदुरका बालवालिकालाई औपचारिक शिक्षाका लागि बाल विकास केन्द्रको स्थापना, स्कूल जाने उमेरका बालबालिकालाई पढ्नका लागि स्कूल नजिकको सामुदायिक बिद्यालयमा पठाउने र बाल अधिकारको सुनिश्चित गरेपछि सोना इट्टा उद्योगलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा बालश्रम मुक्त उद्योग घोषणा गरिएको हो ।

यसैबिच उद्योग परिसरमा एक बिशेष कार्यक्रमको आयोजना गरी सोना इट्टा उद्योगलाई बालश्रम मुक्त उद्योग घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले कुनै पनि क्षेत्रमा बालश्रम गराउन नहुने बताउंदै उद्योगहरुलाई मजदुरमैत्री बनाउन आग्रह गर्नुभयो । नेपाल इट्टा उद्योग महासंघका निर्देशक बद्री कार्कीले सबै इट्टा उद्योगहरुलाई बालश्रम मुक्त घोषणा गर्नुपर्ने र बालश्रम मुक्त नभएसम्म उद्योगहरु चलाउन नपाइने उल्लेख गर्नुभयो ।

नेपाल इट्टा व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष अजयकुमार गुप्ताले सोना इट्टा उद्योग अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)को सहयोगमा बालश्रम मुक्त उद्योग घोषणा हुनु रुपन्देहीका उद्योगीहरुलाई गौरवको विषय भएको भन्दै क्रमश सबै इट्टा उद्योगलाई बालश्रम मुक्त घोषणा गरिने बताउनु भयो । सोना इट्टा उद्योगका सञ्चालक विक्रमरत्न बज्रचार्यले उद्योगलाई पूर्णरुपमा बालश्रम मुक्त गर्ने प्रतिवद्धता जनाउंदै सबै श्रमिक र श्रमिक महिलामैत्री उद्योग बनाएर नमुना उद्योगका रुपमा चलाउने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल इट्टा व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष केपी अब्बल, श्रम तथा रोजगार कार्यालय रुपन्देहीका प्रमुख गिरीराज ज्ञवाली, सिद्वार्थनगर नगरपालिकाका पूर्व मेयर हरिप्रसाद अधिकारी, घरेलु उद्योग महासंघका ध्रुव धिताल लगायतले बोल्दै नेपालमा ईट्टा ब्यबसायीका समस्याहरु र समाधानका उपायहरुबारे चर्चा गरेका थिए ।

You may also like

This will close in 0 seconds