भैरहवामा ९० लाख मूल्यको भारतीय मर्सिडिज कार बेवारिसे अवस्थामा फेला

by समतल अनलाइन
26Shares

भैरहवा । रुपन्देहीको भैरहवामा करिब ९० लाख रुपैयाँ मूल्य पर्ने भारतीय नम्बर प्लेटको विलासी मर्सिडिज बेन्ज कार बेवारिसे अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवाको एक खाली जग्गामा पार्किङ गरेर राखिएको अवस्थामा उक्त कार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद कार भारतको गुजरात राज्यमा दर्ता भएको जीजे २१ सीबी ६००१ (GJ 21 CB 6001) नम्बरको मर्सिडिज बेन्ज जीएलसी २०० डी (फोरम्याटिक) मोडलको रहेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार खाली जग्गामा लामो समयदेखि भारतीय नम्बर प्लेटको कार बेवारिसे अवस्थामा रहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गत कात्तिक ८ गते कार नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद कारको अनुमानित मूल्य ९० लाख रुपैयाँ रहेको जनाएको छ।

महँगो मूल्यको उक्त कार कसले र कुन प्रयोजनका लागि खाली जग्गामा छाडेको हो भन्ने विषय अझै खुल्न सकेको छैन। कारको वास्तविक धनी, नेपाल भित्र्याउँदाको प्रक्रिया तथा आवश्यक भन्सार अनुमति लिइएको थियो वा थिएन भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।

प्रहरीले कारलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन भैरहवास्थित बेलहिया भन्सार कार्यालयमा पठाएको छ।

भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाल प्रवेश गर्दा प्रचलित भन्सार प्रक्रिया र अनुमति अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था छ। बरामद कारको हकमा उक्त प्रक्रिया पूरा भए–नभएको विषय सम्बन्धित निकायको छानबिनपछि मात्रै यकिन हुनेछ।

यस घटनामा हालसम्म कुनै व्यक्तिलाई पक्राउ गरिएको विवरण प्रहरीले सार्वजनिक गरेको छैन। कारसँग सम्बन्धित थप तथ्य तथा यसको वास्तविक धनीबारे अनुसन्धान जारी रहेको छ।

You may also like

This will close in 0 seconds