प्रधानाध्यापक चौधरीमाथी स्थानीयद्वारा गरिएको दुर्ब्यबहार प्रति थारु कल्याणकारी सभाको ध्यानाकर्षण

by समतल अनलाइन

कञ्चन । थारु कल्याणकारी सभा, रुपन्देहीका सल्लाहकार तथा छोटकी रामनगर माध्यमिक बिद्यालयका प्रधानाध्यापक बासुदेव चौधरीमाथी स्थानीयहरुद्वारा गाली गलौज सहित कालोमोसो दल्ने जस्ता असामाजिक कार्य जस्तो दुर्ब्यबहार गरेको प्रति थारु कल्याणकारी सभा रुपन्देहीले बिरोध स्वरुप प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ।

बिभिन्न स्थानीय तथा थारु कल्याणकारी सभा सम्बद्ध संघ संस्थाका प्रतिनीधिहरुद्वारा हस्ताक्षरित संयुक्त जारी बिज्ञप्तीमा थारु कल्याणकारी सभा देवदह नगर समितिका सल्लाहकार तथा छोटकी रामनगर माध्यमिक बिद्यालयका प्रधानाध्यापक बासुदेव चौधरीले कृष्ण जन्मास्टमीको सन्दर्भमा धर्मग्रन्थहरुमा श्री कृष्ण भगवानका बारेमा उल्लेख भएका बिषयलाई उद्रित गर्दै वर्तमान आधुनिक समाज र देशको कानुनसंग मेल नखाने र पाच्य नहुने विचार र बिश्लेषण सामाजिक सञ्जालमा राखेको बिषयलाई लिएर भाद्र २१ गते देबदह ११ स्थित शंकरपुर चोकमा केही काम छ भनि झुक्याएर बोलाई स्थानीयहरुले आक्रमक भई उत्तेजक रुमा गाली गलौज गर्दै कालो मोसो दलि निजले अध्यापन गर्ने छोटकी रामनगर मा.वि.को प्रांग्रणमा लगी माफी माग्न लगाउने, पुनः चौधरीलाई लछार पछार गर्दै ईलाका प्रहरी कार्यालय, धकधईमा लगी ओमसतिया गाउपालिकाका अध्यक्ष मञ्जित कुमार यादवको उपस्थितीमा पुनः माफी माग्न लगाएको र प्रधानाध्यापक चौधरीलाई अन्य बिद्यालयमा सरुवा गराएको उल्लेख गरिएको छ।

नेपाल जस्तो कानुनी राज्यमा यदि कसैको गतिबिधि चित्त नबुझेमा वा कसैको आस्थामाथी चोट पुगेमा कानुनी उपचारको सहरा लिनु पर्नेमा कानुन हातमा लिने अधिकार कसैलाई नभएको र निज चौधरीको लेखबाट यदि आफ्नो आस्थामाथी घात पुगेको हो भने कानुनी कार्वाही तर्फ नलागी कानुनको वर्खिलापमा गएर बासुदेव चौधरीलाई गाली गलौज गर्ने, कालोमोसो दल्ने, लछार पछार गर्ने, जस्तो जघन्य अपराधिक र अमानविय कृयाकलाप र अभद्र ब्यबहार गरेको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको समेत प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ।

यस्तै हिजो २६ गते प्रकाशित विज्ञप्तीमा कानुन हातमा लिएर बासुदेव चौधरीलाई पटक पटक गरिएको अमानविय तवरबाट उत्पिडित गरिएको अपराधिक घटनाको घोर भ्रत्सना गर्दै दोषीहरुको पहिचान गरी कानुनी कार्वाहीको माग गरिएको छ।

 
 
  
 

You may also like