‘नेपालको विजुली बंगलादेश निर्यात गर्न दिन भारत सकारात्मक’

नयाँदिल्ली । भारतको भूमि हुँदै नेपालको विद्युत् (विजुली) बंगलादेश निर्यात गर्न दिन भारत सकारात्मक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । दुवै मुलुकका प्रधानमन्त्रीहरुको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने, ‘नेपालको विद्युत् बंगलादेश निर्यातका लागि भारतले सुविधा दिन इच्छुक देखिएकोमा म प्रशंसा गर्दछु ।’

नेपालबाट बंगलादेशमा ५० मेगावाट बिजुली लैजाने सम्झौता भएको दाहालले स्मरण गराउँदै छिट्टै यससम्बन्धी त्रिदेशीय सम्झौता हुने विश्वास व्यक्त गरे । भारतले नेपालबाट हाल ४५२ मेगावाट बिजुली लिइरहेकोमा दाहालले माथिल्लो तामाकोशीको ४५६ मेगावाटसहित १२ सय मेगावाट विद्युत् भारतले खरिद गर्नेगरी स्वीकृति दिन आग्रह गरे । यसमा प्रधानमन्त्री मोदी सकारात्मक रहेको प्रचण्डको तर्क छ ।

सो अवसरमा मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् लिन तयार रहेको प्रतिबद्धता जनाए । प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा ४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको निर्माण सम्झौता भएको छ । भारतीय कम्पनी सतलज जलविद्युत् निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो ।

 
 
  
 

You may also like