राष्ट्रपति निर्वाचन : आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज (सोमबार) राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गर्दै मौन अवधिमा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले चुनाव प्रचार गर्न नपाउने भएका हुन् ।

निर्वाचन आयोगको २०७९ माघ १६ गतेको निर्णय अनुसार फागुन २५ गते राष्ट्रपतिको र आउँदो चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ । निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरु पालना गर्न÷गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ ।’

आयोगले मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आग्रह गरेको छ । राष्ट्रपतिमा एमालेबाट संविधान सभाका अध्यक्ष सुबासचन्द्र नेम्बाङ र कांग्रेसबाट रामचन्द्र पौडेल प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेश सांसद मतदाता रहेका छन् ।

 
 
  
 

You may also like