सरकारको लक्ष्य : संघीय संसदमा ४० र स्थानीय तहमा ४२ प्रतिशत महिला सहभागिता

काठमाडौँ । सरकारले सन् २०३० सम्म प्रतिनिधि सभामा ४० र स्थानीय तहमा ४२ प्रतिशत महिला सहभागिता पुर्‍याउने लक्ष्य लिएको छ । आज (मंगलबार) संसद बैठकमा सांसद विन्दा पाण्डेले आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको ५० प्रतिशत सहभागिता गराउनु पर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले यस्तो बताएका हुन् ।

हामीले सन् २०३० सम्म प्रतिनिधि सभामा ४० र स्थानीय तहमा ४२ प्रतिशत महिला सहभागिता पुर्‍याउने लक्ष्य लिएको छ,’ उनले भने । यो विषयमा राजनीतिक दलहरु सहमति हुने उनले विश्वास व्यक्त गरे । उनले यो लक्ष्य पूरा गर्न सरका प्रतिवद्ध रहने बताए ।

प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागीता गराउन कानुनी अड्चन हटाउन सरकार तयार रहेको उनको भनाइ छ । उनले निर्वाचनमा नै महिलाको समानुपातिक सहभागीता सुनिश्चित गर्नका लागि निर्वाचन आयोगले पनि काम गरिरहेको र सरकार पनि आवश्यक कानुनमा परिमार्जन गर्ने तयारीमा रहेको बताए । महिलाको समान सहभागीताका लागि राजनीतिक इच्छाशक्ति बढाउनुपर्ने उनको सुझाव छ ।

 
 
  
 

You may also like