काठमाडौं । अमेरिकी सहायता सम्झौता अनुमोदनको कोशिसमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज (शुक्रबार) पनि प्रतिनिधि सभाको बैठक बस्नुअघि छलफल हुने भएको छ ।

आज पनि दुई पक्षबीच छलफलको तयारी भइरहेको नेकपा एमालेका स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले जानकारी दिएका छन् । समय र स्थान अहिले तय भइनसकेको जानकारी दिंदै उनले भने हिजो राति भएको छलफलअनुसार आज थप बसेर निष्कर्ष निकाल्ने कोशिस हुने बताएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका गर्न आज संसद् बैठक बस्दैछ । संसद वैठकअघि नै एमसीसी अनुमोदनको वातावरण बनाउन कांग्रेस एमालेबीच आज पनि छलफल हुन लागेको छ । दलहरुबीच सहमति नभएपछि हिजो (बिहीबार) का लागि बोलाइएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका थिए ।

प्रधानमन्त्री जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागिपरेका छन् भने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन् । त्यस्तै सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) मा पनि एमसीसीबारे विवाद छ ।

एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोग खोजेका छन् । हिजो प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

छलफलमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । आजको छलफलले केहि न केहि निष्कर्ष दिने नेताहरुले बताएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिना साथ एमालेले संसदबाटै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै आएको छ ।

 
 
  
 

You may also like