भैरहवा । नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य फकरुद्दिन खानले नेपाली कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
शनिबार भैरहवामा आयोजित कार्यक्रममा रास्वपाका जिल्ला सभापति महेन्द्र उपाध्याय चापागाईंले खानलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन्। रास्वपाका प्रदेश सल्लाहकार विनोद खरेलका अनुसार खान पार्टीमा आबद्ध भएका छन्।
खान २०७४ सालको प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए। उनले लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हालेका थिए। उनी पूर्वमन्त्रीसमेत हुन्।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा पनि कांग्रेसबाट सोही क्षेत्रका उम्मेदवार बनेका खान जनमत पार्टीका चन्द्रकेश गुप्तासँग पराजित भएका थिए।
पार्टी प्रवेशका क्रममा खानले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सिद्धान्त तथा कार्यशैलीमा समानता देखेकाले रास्वपा रोजेको बताएका छन्। उनले रास्वपा पनि कांग्रेसजस्तै लोकतान्त्रिक पार्टी भएको धारणा व्यक्त गरेका छन्।
खानको पार्टी परिवर्तनलाई रुपन्देहीको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। उनको प्रवेशले जिल्लाको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी दिनमा थप स्पष्ट हुने देखिन्छ।


