मन्त्री श्रेष्ठले चितवनका भूमिहीनलाई बाँडिन् जग्गा धनी प्रमाण पुर्जा

by समतल अनलाइन

चितवन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँ व्लकमा रहेका भूमिहीनहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले चितवन जिल्लाको इच्छाकमना गाउँपालिकाको गाउँव्लकमा रहेका ३६ घर परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी हुन् ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले देशभरीका गाउँ व्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान नै सञ्चालन गरेर काम गरिरहेको र हालसम्म करिब १२ हजार घर परिवारलाई जग्गा धनी पुर्जा वितरण गरी सकिएको जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले भूमि भएर पनि भूमिहीन बनिरहेकाहरु कोही पनि भूमि पाउनबाट छुट्न नहुनेमा जोड दिँदै सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि भूमिहीनलाई भूमि दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको बताइन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न विभिन्न स्थानीय तहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोगमार्फत काम अगाडि बढाइसकिएको जानकारी पनि उनले दिइन् ।

यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको गाउव्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी थिइन् । २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँव्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपुर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिएकी छन् ।

यसैबीच आजै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोग र चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाबीच भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।

राष्ट्रिय भूमि आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम शुरु गरिसकेको छ ।

 

 
 
  
 

You may also like