राष्ट्रिय धान दिवस : शान्तीनगरमा मेशिनद्धारा धान रोपाई,आधुनिक प्रविधिमा आधारीत कृषि गर्नुपर्नेमा जोड

भरत प्रधान
बुटवल । १८ औं राष्ट्रिय धान दिवसको अवसर पारेर रुपन्देहीको तिलोत्तमा–१०, शान्तीनगरका स्थानीयले धान दिवस मनाएका छन्। उद्यमशिल टोल बिकास संस्थाको आयोजनामा यहांका स्थानीयले आधुनिक मेशिनद्धारा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका हुन् ।

सो अवसरमा तिलोत्तमाका नगर प्रमुख बासुदेब घिमिरेले मेशिनद्धारा धान रोपेर धान रोपाई कार्यक्रमको शुभारम्भ गर्दै कृषि क्षेत्रको बिकासको लागि आधुनिक प्रविधिमा आधारीत खेतीमा जोड दिनुपर्ने बताए । धान दिवस श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने पर्व भएको उल्लेख गर्दै नगरप्रमुख घिमिरेले किसानहरुको सम्मान र प्रोत्साहनका लागि नगरपालिकाले समेत धान दिवस मनाउंदै आएको बताए । नगरप्रमुख घिमिरेले अर्गानिक खेती गर्न आग्रह गर्दै आधुनिक प्रबिधिमा आधारित चक्लाबन्दी खेती गर्न चाहने किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता डा. दामोदर भुषालले राज्यका कारण कृषि क्षेत्र संकटमा परेको बताए । मल, बिउ, बिजन लगायतका कृषि सामाग्रीमा हुने अनावश्यक चलखेलका कारण कृषि क्षेत्र धरासायी बन्दै गएको उल्लेख गर्दै भुषालले सुधारका लागि आक्रमक रुपमा कृषिको रुपान्तरण गनुपर्ने बताए । अभियन्ता भुषालले कृषिको आधुनिकीकरण र ब्यबसायीकरणका लागि प्रबिधीको अवलम्बन र रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

मनमीत श्री ट्रेडिङका संचालक उदय कुमार सिंहले धान रोप्ने अत्याधुनिक मेशिनको प्रयोगले समय र श्रमको बचत गर्न सकिने बताए । मेशिनको प्रयोगले प्रतिघण्टा १० कठ्ठा र दिनभरमा ५ बिघा सम्म खेत रोप्न सकिने सिंहले बताए ।

संस्थाका अध्यक्ष घनसिंह पुनको अध्यक्षतामा भएको कार्यक्रममा नवजागृति आमा समूहका अध्यक्ष माया श्रेष्ठ, संस्थाका सचिव शिव ढकाल, युवा संयोजक कृष्ण श्रेष्ठ लगायतले बोल्दै कृषिको आधुनिकीकरण र ब्यबसायीकरणका लागि राज्यले बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

संस्थाले गत बर्ष देखि नै मेशिनको माध्यमबाट धान रोप्दै आएको छ । संस्थामा आबद्ध स्थानीयले करिब ५ विगाहा जग्गामा चक्लाबन्दी खेती गर्दै आएका छन् ।

 
 
  
 

You may also like