प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ता शर्माको प्रश्न : जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने ?

by समतल अनलाइन
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा चर्चा भइरहेको रूपा सुनारको मुद्दामा राज्यको व्यवहारलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रश्न उठाएका छन् । प्रवक्ता शर्माले पत्र लेखेर जातीय विभेदका विषयमा चार प्रश्न उठाएका हुन् ।

‘समय र संसार बदलिएको छ, तर हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा बदलिएको छैन’, शर्माले लेखेका छन्, ‘दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन ।’

उनले नयाँ संविधान निर्माण गर्न आफूहरूको समर्थन रहे पनि संविधान अनुरूप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त नभएको उल्लेख गरेका छन् ।

‘यस्तो परिस्थितिमा देश बन्ने/बनाउने परिभाषाभित्र सामाजिक रूपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नवीन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ’, शर्माले भनेका छन्, ‘हालैको एक घटनामा तपाईंको मन्त्रिमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ ।’

केही दिनअघि शिक्षमन्त्री कृष्ण गोपाल श्रेष्ठले आफ्नो रोहबरमा जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाएका थिए । उनले प्रधानलाई प्रहरीबाट छुटाएर आफ्नै गाडीमा हालेर घर पुर्‍याएपछि अहिले उनको सर्वत्र आलोचना र विरोध भइरहेको छ ।

१) घटनाको अनुसन्धान, कार्वाही र समाधानको एउटा निश्चित विधि हुन्छ । राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ प्रधानमन्त्री ज्यू ?

२) निश्चित घटना उजागर भएपछि त्यसको पक्ष–विपक्षमा नागरिक तहबाट धारणा व्यक्त हुंदै गर्दा बहसलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न, न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउन, समाजमा आरोप–प्रत्यारोप एवं द्वन्द्व बढ्न नदिन जिम्मेवार राज्यले बिशेष सतर्कता र गम्भीरता राख्नुपर्दछ । त्यो जिम्मेवार भूमिकाबाट के राज्यलाई विमुख गराउन लागिएको हो प्रधानमन्त्री ज्यू ?

३) द्वन्द्व निरुपण होइन भड्कावलाई बल पुर्‍याउने मन्त्रीको भूमिका ब्यक्तिगत स्वेच्छाचारीता कि राज्यकै प्रतिनिधित्व ? मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम ?

४) राज्यको भूमिका जिम्मेवारपूर्ण बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरु र आज संविधानमा लेखिएका न्यायका अक्षरहरूको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्री ज्यू ?

उनले यी प्रश्न रूपा सुनारसँग मात्र जोडिएको नभएर समाजको अनुहारमा पोतिएको धुलोसँग जोडिएको बताएका छन् । ‘शर्माले प्रश्न रूपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो’, शर्माले भनेका छन्, ‘हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले बिषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।’

उनले विभेदका कारण समाजमा अनेक अपमान, अवहेलना र हत्यासमेत जारी रहेको बताएका छन् । ‘शिक्षण अस्पतालबाट अजित मिजारको लाश अझै उठेको छैन, नवराज विकहरूको घटना आलै छ । विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजी गरिरहेको छ’, शर्माले प्रश्न गरेका छन्, ‘तर पछिल्लो घटनामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको छ । गम्भीर प्रश्नमा जवाफदेही बन्ने कि सम्पूर्ण मौनता राख्ने प्रधानमन्त्री ज्यू ?’

You may also like

This will close in 0 seconds