मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयासमा काँग्रेसले भन्यो- ‘हामीलाई नजिस्क्याऊ’

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेता मिनेन्द्र रिजाल लगायतमाथि भएको आक्रमण प्रयासको भर्त्सना गरेको छ ।

तनहुँको रिसिङ गाउँपालिकामा गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा नेता रिजाल, कांग्रेस तनहुँका कार्यवाहक सभापतिलगायतलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले अवरोध गरेका थिए । रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै लाठी, ढुंगा, वियरका बोतलसहित बाटो छेकेका थिए ।

‘फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ’ कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको भन्दै कांग्रेसले ‘मण्डलेशैली’ नरोके आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

‘लोकतान्त्रिक आन्दोलनको मियो कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेकपालाई चेतावनी दिन चाहन्छ’ उसले भनेका छ ।

काँग्रेसको विज्ञप्ति :

तनहुँको रिसिङ गाउँपालिकामा गाउँपालिकाको भवन शिलान्यास गर्न जानु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद डा. मिनेन्द्र रिजाल, तनहुँका कार्यवाहक सभापति लगायत पार्टीका साथीहरुलाई नेकपाका कार्यकर्ताहरुले आज बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै खुकरी, भाला, लाठी, ढुंगा, वियरका बोतल सहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको सुनियोजित घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेको थियो । कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषय हो । फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ ।

सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहोर्याउँदै व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गई रहेको घटनाप्रति सतर्क रहन नेपाली कांग्रेस सबैलाई आग्रह गर्दछ । मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारका विरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुनेछ ।

लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेपाली कांग्रेस नेकपालाई चेतावनी दिन चाहन्छ ।

मिनेन्द्र रिजालमाथि आइतबार आक्रमणको प्रयास

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालमाथि आइतबार आक्रमणको प्रयास भएको छ ।

तनहुँको सदरमुकामबाट रिजाल रिसिङ गाउँपालिका जाने बाटोमा ७/८ ठाउँमा रुख ढालेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले ढुंगामुढा गरेको जानकारी दिए ।

गाउँपालिको वडा नम्बर ८ मा नेता रिजाललाई नेकपाका कार्यकर्ताले रुख ढालेर तीन घण्टासम्म बाटो छेकेका थिए ।

केही ठाउँमा आफूमाथि ढुंगामुढाको प्रयास पनि भएको नेता रिजालले बताए । नेकपाका कार्यकर्ताहरुले ‘भवन निर्माणमा हाम्रो विरोध छ’ भन्दै बाटो अवरोध गरेर आक्रमणको प्रयास गरेको उनको भनाइ छ ।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन कांग्रेसका नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई पनि जानकारी रहेको प्रहरीले जनाएको छ ।

भवन उद्घाटन गरेर फर्किएपछि नेता रिजालले लोकतन्त्र र संविधानमा कसैबाट खतरा छ भने वर्तमान सरकारबाट रहेको प्रतिक्रिया दिएका थिए । उनले यस्ता गतिविधि तत्काल बन्द नगरे लोकतन्त्र जोगाउन सरकार विरोधी आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।

 
 
  
 

You may also like