लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

बुटवल। लुम्बिनी प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने कार्यसूची छ ।

तर नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै जसपा संसदीय दलकी प्रमुख सचेतक पूरमति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरुलाई पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

‘संसदीय दलका नेताको निर्देशनमा सबै माननीय ज्यूलाई आजै पत्र पठाइएको छ, सबैले ह्वीपको पालना गर्नुपर्छ,’ प्रमुख सचेतक ढेंगाले भनिन् । सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सुमन शर्मा रायमाझी र संसदीय दलका नेता सहषराम यादवलाई पत्र पठाइएको प्रमुख सचेतक ढेंगाले जानकारी दिइन् ।

जसपाका ६ प्रदेशसभा सदस्यमध्ये संसदीय दलका नेता सहषराम यादव र प्रमुख सचेतक ढेंगा बाहेकका ४ जना पार्टी निर्णय विपरित सरकारमा गएको भन्दै पार्टीले कारबाही गरेर पदमुक्त भएका थिए । तर सर्वोच्चको अन्तरिम आदेशले उनीहरुको पद थमौती भएको छ । जसपासहित सबै विपक्षी दलहरुले सरकारको वैधतामाथि प्रश्न उठाउँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेशसभा बैठक बहिष्कार गरेका थिए ।

 
 
  
 

You may also like