रुपन्देहीमा लाइसेन्स घोटाला: परीक्षाको नतिजा किर्ते गरेर १३ जनालाई लाइसेन्स, रद्द गर्न अख्तियारको निर्देशन

by समतल अनलाइन
45Shares

बुटवल । यातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित र प्रयोगात्मक परीक्षाको नतिजा अनधिकृत रूपमा परिवर्तन गरी १३ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरिएको तथ्य सार्वजनिक भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका क्रममा अनियमितता भेटिएपछि ती लाइसेन्स रद्द गर्न र संलग्नमाथि कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको छ।

आयोगको अनुसन्धानअनुसार २०७८ साल असार ११ गते लिइएको लिखित परीक्षा र असार १४ गते सञ्चालन गरिएको प्रयोगात्मक परीक्षाको नतिजामा हेरफेर गरी लाइसेन्स वितरण गरिएको थियो। परीक्षाका अभिलेखमा केरमेट गर्ने, विवरण थपघट गर्ने र नतिजा सच्याउनेजस्ता कार्य गरी अनुत्तीर्णलाई समेत उत्तीर्ण देखाइएको पाइएको आयोगले जनाएको छ।

यसरी नतिजा परिवर्तन गरेर ‘जे–१’ र ‘जे–२’ वर्गका लाइसेन्स प्राप्त गर्ने १३ जनामा इन्द्र जिसी, सञ्जु खाँड, दीपेन्द्र कुँवर, खिमबहादुर ढेंगा, डिलबहादुर आचार्य, यदु खड्का, विकास घिमिरे, सूर्यबहादुर थापा, रुद्रबहादुर गाहा मगर, शम्भु केसी, लेखबहादुर रेश्मी, ओमप्रकाश चौधरी र आसिफ खवास रहेका छन्।

अनियमिततामा संलग्न भएको आशंका गरिएका कर्मचारी तथा अन्य व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न पनि आयोगले सम्बन्धित निकायलाई भनेको छ। यसका लागि अख्तियारले लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात व्यवस्था मन्त्रालयलाई पत्राचार गर्दै गैरकानुनी रूपमा जारी भएका लाइसेन्सको नम्बर र वर्गसहितको विवरण पठाएको छ।

आयोगले सम्बन्धित व्यक्तिका अनुमतिपत्र रद्द गर्ने प्रक्रिया अघि बढाउन तथा घटनामा संलग्नमाथि आवश्यक कानुनी कारबाही गर्न मन्त्रालयको ध्यानाकर्षण गराएको जनाएको छ।
परीक्षाको नतिजामै हेरफेर गरेर लाइसेन्स वितरण गरिएको घटनाले यातायात कार्यालयको परीक्षा प्रणाली, अभिलेख व्यवस्थापन र अनुमतिपत्र वितरण प्रक्रियाको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

You may also like