सर्वोच्चले नागरिकता अध्यादेश रोक्नु गलत, भयावह समस्या आउँछ : महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेशलाई रोक्नु गलत भएको बताएका छन् । उनले अध्यादेश रोकिंदा नागरिकतासम्बन्धी समस्या भयावह हुने बताएका छन् ।

नेपाल सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि जसपाका नेता रुष्ट बनेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्तमन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए । उनले ३ वर्षदेखि नागरिकतासम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकतासम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताएका छन् ।

नागरिकता अभावमा नागरिकहरू रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित भइरहेको उनको भनाइ छ । उनले नवनियुक्त मन्त्रीहरूलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महताले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए । देशको समृद्धि विकास र जनताको अधिकारको निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्ने उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए ।

 

 
 
  
 

You may also like