काठमाडौं। दक्षिण अफ्रिकाकी एक महिलाले एकैपल्ट १० सन्तानलाई जन्म दिएको न्युयोर्क पोष्टले जनाएको छ । ३७ वर्षकी जोसियामी थामरा सितहोलले सात छोरा र तीन छोरीलाई जन्म दिएको बताइएको छ ।
सितहोलले डाक्टरले ६ देखि ८ सन्तान जन्मिने बताए पनि आफूले १० सन्तान जन्माएपछि परिवार अचम्मित भएको बताइन् । प्रेटोरिया न्युजसँग उनका श्रीमान तेबोहो सोतेसीले भनेका छन्, ‘सात छोरा र तीन छोरीको जन्म भएको छ । मेरी श्रीमती ७ महिना ७ दिनको गर्भवती थिइन् । म खुशीसँगै भावुक भएको छु ।’
यसैबीच यतिबेला सितहोलले गिनिस वर्ल्ड रेकर्ड राखेको भनेर चर्चा चलेको छ । हालसम्म विश्वमा ९ सन्तानको मात्र एकैपल्ट जन्म भएको रेकर्ड थियो । सो रेकर्ड मालीयन हालिमा सिसेको नाममा छ । मोरोक्कोकी उनले गत महिना मात्र ९ सन्तानको जन्म दिएकी थिइन् । गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सले यो समाचार सत्य भए सितहोलले नयाँ कीर्तिमान कायम गरेको बताएको छ । एनडीटीभी