विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु, रक्सी पसलका मालिक पक्राउ

नयाँदिल्ली। भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको ज्यान गएको बताइएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरुको मृत्यु भएको हो । उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमिटर टाढा रहेको सो गाउँमा उक्त दुर्घटना भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले सो विषाक्त रक्सीको सेवनबाट यहाँका २२ जनाको ज्यान गएको र अरु केही अस्पताल भर्ना भएका जनाएका छन् । अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए ।

सो रक्सी सेवनबाट बिरामी भएका उनीहरुको शुक्रबार साँझ ज्यान गएको हो । यहाँका स्थानीयहरुले शुक्रबार अपराह्नबाट मानिस निकै बिरामी परेका र साँझदेखि मर्न थालेका बताएका छन् ।

यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका पाँच वटा रक्सी पसल ‘शिल’ गरेका छन् र ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन् । त्यस्तै, ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ । रासस–सिन्ह्वा

 

 
 
  
 

You may also like