विपतिका बेला पनि प्रचारको भोक : अक्सिजन सिलिण्डरमा वनमन्त्रीको फोटो

काठमाडौं। समय–समयमा चर्चामा आइरहने वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
केहि समयअघि मात्र ‘रुखबाट हामी कार्वनडाइअक्साइड पाउँछौं, जुन रुखलाई हामीले अक्सिजन दिन्छौं, त्यो रुखलाई हामीले जोगाउनु पर्छ’ भन्ने अभिव्यक्ति दिएर चर्चामा आएका वनमन्त्री आले अहिले फेरि चीनले दिएको अक्सिजन सिलिण्डरमा आफ्नो तस्विर टाँसेर बाँडेपछि ‘भाइरल’ भएका छन् ।

चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्ण्डरलगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिण्डर पठाएको थियो । मन्त्री आलेले त्यसमा ब्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश जाने गरी स्टिकर टाँसेर आफ्नो चुनाव क्षेत्रमा पठाएका छन् ।

चीनले दिएको स्वास्थ्य सामग्री र अक्सिजन सिलिण्डरमा मन्त्री आलेले टाँसेको स्टिकरमा– ‘नेपाल सरकारका माननीय बन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको ब्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको छ ।

उनले आफ्नो निर्वाचन क्षेत्र डोटीमा त्यसरी स्टिकरसहितको स्वास्थ्य सामग्री पठाएका छन् । ७५ थान अक्सिजन सिलिण्डर, डेढ लाख संख्याका सर्जिकल मास्क, औषधीहरु, एन्टिजेन किट, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री पुर्‍याएका छन् ।

डोटीबाट निर्वाचित रहेका पूर्व सांसद आले सदाबहार रुपमा सामाजिक सञ्जालमा भाइरल हुँदै आएका छन् । सोच बिचार नै नगरी दिने अभिव्यक्तिका कारण उनी सामाजिक सञ्जालमा मजाकको विषय बन्दै आएका छन् । उनले सार्वजनिक मञ्चमा गरेका भाषणका क्रममा बोलेका यी कुरा जसले उनलाई आलोचित बनायो ।
–‘यो जनताप्रति उत्तरदायी भएको सरकार कसैलाई लाग्छ भने त्यो तपाईंहरुको ठूलो भूल हो ।’

–‘अब यो सरकारको गियर सिधै ७ नम्बरमा जान्छ । सिधै ७ नम्बरमा हालेपछि तपाईहरु रोडमा नजानुहोला तपाईहरु सिधै समुद्रमा हाम्फाल्नु होला ।’

–‘रुखबाट हामी कार्वनडाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामीले अक्सिजन दिन्छौँ, त्यो रुखलाई हामीले जोगाउनुपर्छ ।’

अभिव्यक्ति दिँदा आफू चिप्लन थालेपछि आफू जोगिन उनले लिखित भाषण पढ्न थालेका थिए । तर, उनको त्यो आइडियाले पनि काम गरेन ।

पछिल्लो पटक अक्सिजन अभावमा अस्पतालहरुमा कोरोना संक्रमितको ठूलो संख्यामा मृत्यु भइरहेका बेला उनले अक्सिजनको व्यवस्था गर्ने कुरा छोडेर ‘आर्यघाटमा दाउरा अभाव हुन नदिन’ निर्देशन दिएपछि चर्को आलोचना बेहोरे । उनले नेपाल बन निगमका महाप्रबन्धक धन्नजय पौडेललाई आर्यघाटमा दाउरा अभाव नहुन निर्देशन दिएका थिए ।

अहिले फेरि चुनाव प्रचार शैलीमा स्वास्थ्य सामग्रीमा आफ्नो विज्ञापन गरेपछि उनी चौतर्फी आलोचनाको शिकार भएका छन् । बन मन्त्री रहेका आलेमाथि काठ तस्करीको आरोप समेत लाग्दै आएको छ । गत माघमा सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले आलेलाई काठ तस्कर भएको बताउँदै तस्करीको पैसाले धनगढी र काठमाडौंमा घर बनाएको आरोप लगाएकी थिइन् । यता मन्त्री आलेले भने आफूले पेट कटाएको रकमले जनताको सेवा गर्न चाहेको र प्रचारको कुनै आवश्यकता नभएको बताएका छन् ।

 
 
  
 

You may also like