अमेरिकामा वर्षमा एक लाख २५ हजार जनाले प्रवेश पाउने

काठमाडौं। अमेरिकाले वार्षिक रुपमा आफ्नो देशमा प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आगामी वर्षदेखि अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने घोषणा गरेका हुन् ।

उनले आगामी वर्षदेखि अमेरिकामा एक लाख २५ हजार जना शरणार्थीले वार्षिक रुपमा प्रवेश पाउने घोषणा गरेका हुन् । गत वर्ष पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रवेश गर्ने शरणार्थीको संख्या १५ हजारमा सीमित गर्ने घोषणा गरेसँगै उक्त निर्णयको सर्वत्र आलोचना भएको थियो ।

त्यसअघि आमेरिकामा वार्षिकरुपमा ६५ हजार शरणार्थीले प्रवेश पाउने गरेका थिए । राष्ट्रपति बाडइनले अघिल्लो सरकारको निर्णय अमेरिकाको मूल्य मान्यता विपरीत भएकाले नयाँ आदेश जारी गरेको बताएका छन् ।

उनले आगामी आर्थिक वर्षका लागि एक लाख २५ हजार जना शरणार्थीलाई अमेरिका प्रवेशको अनुमति दिने आफ्नो योजना रहेको बताएका छन् । राष्ट्रपति बाइडेनले आफ्नो चुनावी प्रतिवद्धताअनुरुप नै विदेश नीतिमा केही सुधार गर्न लागेको ह्वाइट हाउसलाई उध्रित गर्दै सीएनएनले जनाएको छ ।

गत जनवरीमा पदभार ग्रहण गरे लगत्तै राष्ट्रपति बाइडेनले आप्रवासी शरणार्थीहरुबारे नयाँ कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका थिए । तर मेक्सिकोबाट दक्षिण अमेरिकाको सीमा पार गर्दै आउने आप्रवासीको संख्या अत्याधिक भएसँगै बाइडेनको सो घोषणा कार्यान्वयन हुन सकेको थिएन । एजेन्सी

 

 
 
  
 

You may also like