जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउन सांसद शाहीमाथि तत्काल कारबाही गर्नुपर्छ : नेता पौडेल

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउन गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीमाथि तत्काल कारबाही गर्नुपर्ने बताएका छन् ।

नेता पौडेलले गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको समेत बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र नेकपा (एमाले) को निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर ठूलो चलखेलका साथ लुकाएको आरोप पनि लगाए । बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको ‘नक्कली’ पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरे ।

बुधबार गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्वीच अफ गरी गायब भएका थिए । नेता पौडेलले एमालेले सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीतिक सिद्धान्त र निष्ठामा रहेको जनमोर्चा जस्तो पार्टीको आदर्शमाथि प्रहार गरेको आरोप लगाए ।

खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने पनि नेता पौडेलले बताए । ‘कीर्ते नक्कली बहाना बनाएर, अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजिटिभ हुन्छ ? यसमा षड्यन्त्र छ । मैले भन्ने गरेको छु, विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने, सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उडाउने काम भयो’, उनले भने, ‘खिमविक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको व्यवस्थामा यस्ता खेल, कीर्ते, जालसाजी खेल, अलोकतान्त्रिक षड्यन्त्रको छानबिन हुनुपर्छ ।’

स्थानीय प्रशासन, संघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलको आरोप छ । ‘यहाँ त सीडीओ पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुने बित्तिकै संसद् नै स्थगित गरेर मुख्यमन्त्री काठमाडौं आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा (एमाले) को षड्यन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ’, उनले भने ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला जनमोर्चाका सांसद शाही अस्पतालको आईसीयूमा भर्ना भएका थिए । मंगलबारसम्म सकुशल रहेका शाही मत विभाजन हुनुअघि अस्पतालको आईसीयूमा भेटिएका हुन् । राष्ट्रिय जनमोर्चाको तीन सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो ।

 
 
  
 

You may also like