ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटे : जनार्दन शर्मा

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटेको बताएका छन् ।

उनले त्यसका विरुद्ध शान्तिपूर्ण आवाज ल्याएर सडकमा आएका जनताको आवाज नसुने विद्रोहमा उत्रिने बताए । उनले त्यसले संघीयताविरोधीलाई समाप्त पार्ने दाबी गरे । संविधानमा लेखिएको अधिकार कानुन बनाउने क्रममा भाँचभुँच पारिएको उनले बताए । उनले जनताको संकट समाधान गर्नुपर्नेमा ओम्नीहरूलाई अगाडि सारेर जनताको हक खोसिएको, अधिकारलाई कुण्ठित पारिएको बताए ।

उनले सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताएका छन् । देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने नेता शर्माले बताए । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित आमसभामा सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले देशलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका समस्या समाधान हुने बताए ।

सम्बोधनका क्रममा नेता शर्माले भने, ‘देश र जनतालाई उपलब्धि दिने क्षेत्रमा नयाँ कुलमानहरुलाई नियुक्त गर्नुपर्छ । त्यस्तै खालका संरचना चाहिन्छ । नयाँ कुलमानहरुको माध्यमबाट जनताको समस्या समाधान गर्नुपर्छ ।’

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गरेको छ ।

त्यस्तै नेता शर्माले जनताको बीचमा नेतृत्व हुर्कनुपर्ने र आफूहरुलाई पार्टीभन्दा देश प्यारो भएको पनि बताए । आत्मसमपर्णभन्दा आफूहरुलाई स्वतन्त्रता र बलिदानी प्यारो भएको पनि उनको भनाइ थियो ।

 
 
  
 

You may also like